कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी प्रवक्ताका रूपमा पोखरामा सरूवा भएर आउने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर केसी बर्खास्त भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट कास्कीमा सरुवा भएपछि रमाना बुझ्ने तयारीमा रहेका डीएसपी केसीलाई गत पुस ११ गते नगद र चेकसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।

नौ लाख ५० हजार रुपैयाँको चेक र साढे आठ लाख रुपैयाँ नगदसहित इलाका प्रहरी कार्यालय बुटवल निवासबाट पक्राउ परेका उनलाई गृह मन्त्रालयमा पत्राचार गरेर निलम्बन गरिएको थियो ।

निलम्बन पश्चात प्रहरी प्रधानकार्यालयले गरेको आन्तरिक छानबिनका क्रममा प्रहरी ऐन विपरीतको कार्यमा केसी संलग्न रहेको देखिएको भन्दै उनलाई सेवाबाट बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो। प्रहरी प्रधानकार्यालयले सिफारिस गरेको झन्डै एक महिनापछि गृहमन्त्रालयले केसीलाई हिजो मंगलबार बर्खास्त गरेको हो ।

बुटवलमा काजमा रहँदा सुनसहित पक्राउ परेका व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटना बाहीरिएको थियो । किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । उक्त सुन फिर्ता गराउने शर्तमा केसीले नगद र चेक घुस लिएका थिए ।

तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिले सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर खान खोजेको’ निष्कर्ष निकालेको थियो । समितिले केसीमाथि थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गर्दै भ्रष्टाचार ऐन अनुसार कारबाही हुनुपर्ने बताएको थियो।

प्रहरी प्रधान कार्यालयले समितिको सिफारिस अनुसार नै थप अनुसन्धान र कारबाहीको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button