आजबाट पोखराको फोहोर फाल्न सुरु

पोखरा । पोखरा महानगरपालिका भित्रको फोहोरलाई आजबाट विसर्जन गर्न सुरु गरिएको छ । यस अघि फोहोर विसर्जन गरिँदै आएको पोखरा ३२ लामेआहाल स्थित अस्थायी ल्यान्डफिल साइटमै पुनः फोहोर विसर्जन गर्न थालिएको हो ।

ल्यान्डफिल साइटमा महानगरले सहमति अनुसार काम नगरेको तथा लापरबाहीका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयले झन्डै दुई सातादेखि फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

स्थानीयहरू मध्येबाट तत्काल फोहोर फाल्न रोक लगाउने गरी अन्तरिम आदेशको मागसहित उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेकोमा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको थियो । उक्त आदेशसँगै महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।

अदालतको निर्णयपछि महानगर, स्थानीय प्रतिनिधि र सङ्घर्ष समितिका बीचमा सोमबार केही चरणमा कुराकानी भए पनि सहमति जुट्न सकेको थिएन । महानगर सहमतिमै काम गर्न तयार रहेको बताउँदै महानगरका प्रवक्ता मोती तिमिल्सिनाले यसअघि भएका सहमतिलाई पूर्ण रूपमा कार्यान्वयनमा लगिने र आवश्यक थप समझदारी खोज्दै जाने योजनाका साथ महानगर अघि बढेको जानकारी दिए । प्रवक्ता तिमिल्सिनाका अनुसार ३० वटा गाडी बिहान फोहोर बोकेर ल्यान्डफिल साइट पुगेकोमा बिहान १०:३० बजेसम्म २० वटा गाडीको फोहोर विसर्जन भइसकेको छ ।

प्रवक्ता तिमिल्सिनाले भने, ‘फोहोर व्यवस्थापनको विषयमा नगरप्रमुख ( धनराज आचार्य) ज्यू अत्यन्त गम्भीरतापूर्वक लाग्नुभएको छ । उहाँले निरन्तर स्थानीयसँग संवाद र सम्पर्क गर्दै आउनुभएको छ । महानगर १६ बुँदै प्रतिबद्धतालाई अक्षरशः पालना गर्न कटिबद्ध रहेको छ । प्रतिबद्धता पुरा गर्ने र फोहोर व्यवस्थापन गर्ने विषयमा नगरप्रमुख, उपप्रमुख, वडाका प्रतिनिधिहरुसंगै सिङ्गो महानगर एक ढिक्का छ । अव फोहोर उठाउने र विसर्जन गर्ने कार्यले निरन्तरता पाउँछ ।’ महानगरले आजैदेखि घरघरबाट फोहोर संकलन गर्नेसमेत तिमिल्सिनाले बताए ।

अदालतको आइतबारको आदेशपछि स्थानीयले गर्ने सक्ने सम्भावीत अवरोधको विषयलाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकबाट लामेआहालमै फोहोर फाल्नको लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने निर्णय समेत भएको थियो ।

लामेआहाल स्थित सेती नदी किनारको खाल्डो पुरेर फोहोर व्यवस्थापन गर्ने गरी महानगरपालिका र स्थानीयबिच ६ महिनाअघि समझदारी भएको थियो । तर, महानगरले स्थानीयसँग गरिएको १६ बुँदै सम्झौता पालना नगरेको भन्दै पछिल्लो समय स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए ।

पोखरा महानगरले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ मा रहेको ल्यान्डफिल साइट पुरेर लामेआहालमा फोहोर विसर्जन गर्दै आएको छ । ६ महिनामा पोखरा ३३ मा स्थायी ल्यान्डफिल साइट निर्माण गर्ने निर्णय गरेको पोखरा महानगरपालिकाले उक्त स्थानमा ल्यान्डफिल साइट निर्माण गर्न प्रारम्भिक प्रक्रिया सुरु भएको जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button