
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पोखरामा पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेको भन्दै शालिक जस्ताको तस्तै खडा गर्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले इतिहास मेटेर देश बन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले भने,पृथ्वीनारायण शाहको शालिक पोखरामा तोडफोड गरेर फालिएको छ । त्यसलाई जस्ताको त्यस्तै बनाउँनुपर्छ देश बन्ने भनेको ईतिहासलाई मेटाएर होईन् रक्षा गरेर हो । पोखराको पृथ्वीनारायण चोकमा शालिक जिउका तिउ खडा गर्नुपर्छ । ’
सांसद शाहीले गाई काटेर सामाजिक सञ्जालमा राख्नेहरुलाई कारवाही गर्न समेत माग गरेका छन् । उनले ९३.४२ प्रतिशत बैद्धिक सनातन धर्म मान्नेहरुको आस्थाको धज्जी उडाईरहेको अवस्थामा गृह मन्त्रीले रमिता र जात्रा हेरेर बसेको भन्दै पक्राउ गरेर कारबाहीको लागि माग गरेका हुन् ।
उनले भने,देशमा बैद्धिक सनातन धर्म मान्ने ९३.४२ प्रतिशतले आजपनि गाईलाई माता मान्छन् । आज गाई काटेर सामाजिक सञ्जालमा राखिन्छन् । र, प्रचार गरेर यो देशको १०० प्रतिशत मध्य ९३ जनाले आस्था मान्ने मानिसलाई धज्जी उडाईन्छ । गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ । उहाँहरुलाई पक्राउ गरेर कारबाही होस् । ती अपराधीलाई खुला किन छोडिएको छ । ’
सांसद शाहीले यसरी अपराध हिंसा गर्ने हिम्मत भए साउदी अरबमा गएर सुंगुर मारेर आउन चेतावनी दिए ।