साढे १४ करोड लागतमा उज्यालो पोखरा

पोखरा, १८ भदौ । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरको १४ करोड ६५ लाख रुपैयाँ लगानीमा उज्यालो पोखरा अभियान सुरु भएको छ ।

प्राधिकरण र महानगरको ५०/५० प्रतिशत लागत साझेदारीको उक्त अभियानको आइतबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रूपमा उद्घाटन गरे ।

अभियान अन्तर्गत पहिलो चरणमा पोखरा महानगरभित्रका मुख्य चोकमा २३ वटा हाइ मास्ट बत्ती तथा बजार क्षेत्रको  ६० किलोमिटर सडकमा दुई हजार सात वटा स्मार्ट बत्ती जडान गरिएको छ ।

पोलको उचाई १६ मिटर रहेको हाइ मास्ट लाइटमा दुई सय वाट पावरका आठ वटा बत्ती रहेका छन् । स्मार्ट बत्ती जडान गर्नका लागि चार सय ३९ वटा नयाँ पोल जडान गरिएको छ ।

 

स्मार्ट बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको छ । बत्तिको आयु ५० हजार घण्टा अर्थात झण्डै ११ वर्ष तोकिएको योजनामा ठेकेदार कम्पनी टपसन इनर्जी प्रालिले निर्माण पूरा भएको ५ वर्षसम्म मर्मत सम्भार गर्नेछ  ।

स्वचालित प्रविधिमा आधारित बत्ती सूर्यास्तसँगै बल्ने तथा सूर्योदयसँगै निभ्ने गर्दछ । बत्तीको चहकिलोपना उज्यालोको प्रकाश अनुसार स्वचालित रूपमा घटबढ हुने समेत बताइएको छ ।

महानगर प्रमुख आचार्यले पहिलो चरणमा मुख्य सहरी क्षेत्रमा बत्ती जडान गरिएको भएपनि दोस्रो चरणमा पोखरा क्षेत्रका सबै सडक उज्यालो हुने गरी जडान गरिने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दोस्रो चरणको कार्यक्रम अघि बढाउन प्राधिकरण तयार रहेको बताउँदै अभियानमा महानगरको निरन्तरता आवश्यक रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button