पोखराको भएको कृष्ण भजन भजन प्रतियोगितामा पाल्पा उत्कृष्ट

कला संस्कृतिवाटै मानव सभ्यताको विकासः सासंद भट्टराई

पोखरा २१ भदौ । पोखराको वाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशावतार बालन संस्कृत समूह उत्कृष्ट हुँदै प्रथम भएको छ ।

श्री कृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समूह हेम्जा उत्कृष्ट दोस्रो, ईशानेश्वर भजन समूह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समूह फूलबारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विगत २४ वर्षदेखि निरन्तर रूपमा गर्दै आएको प्रतियोगितामा उत्कृष्ट हुन सफल टोलीलाई नगद १ लाख प्रदान गरिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक सञ्जय थापाले जानकारी दिए । त्यसै गरी द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार, सान्त्वना टोलीलाई २५ हजार र सहभागी २४ टिमलाई प्रोत्साहन स्वरूप नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको उनले बताए । मध्यरातसम्म चलेको प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लीला समेत प्रस्तुत गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले कला संस्कृतिबाटै मानव सभ्यताको विकास भएको बताउँदै, यसको संरक्षण गर्न आवश्यक रहेको बताइन । उनले यस्ता कार्यक्रमले पोखराको धार्मिक पर्यटन विकासमा समेत टेवा पुर्‍याउने स्पष्ट पारिन ।

प्रतिष्ठानका अध्यक्ष हरि बरुवालले गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यस वर्षदेखि पुन संचालन गरिएको जानकारी दिए । कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सदैव अग्रसर हुने कार्यक्रम संयोजक दुर्गादेवी बस्नेतले बताइन ।

प्रतियोगितामा सहभागी टोलीको मूल्याङ्कन संयोजक सिर्जना थापा, संस्कृतिविद् डा. कुसुमाकर न्यौपाने र सह प्राध्यापक अम्बिका प्र भट्टराईले गरेका थिए । गायक प्रजापति पराजुलीले संचालन गरेको कार्यक्रममा महेन्द्र बानियासहित विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, पाल्पा लगायतका जिल्लाबाट पनि भजन टोली सहभागी भएका थिए । कार्यक्रम हेर्न महेन्द्र गुफा तथा चमेरे गुफा हेर्न पुगेका विदेशी पर्यटक समेत पुगेका थिए । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button