अहिलेको अवस्थामा समयमै साधारण सभा सम्पन्न गर्ने सहकारी सबल: अध्यक्ष बराल

पोखरा । कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज बरालले अहिलेको अवस्थामा समयमै भव्य साधारण सभा सम्पन्न हुनु सहकारीका लागि सुखद रहेको बताएका छन् ।

शनिबार पोखराको लेकसाइड स्थित कुटी रिसोर्टमा शुभम् बचत तथा ऋण सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभामा बोल्दै उनले समयमै पारदर्शी रुपमा साधारण सभा सम्पन्न गर्ने सहकारी सबल रहेको बताए ।

कास्की कै सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेर माइतीघरमा आन्दोलन भइरहेको अवस्थामा संस्थाको अडिट चुस्त दुरुस्त रूपमा गरेर हरहिसाबसहित साधारण सभा सम्पन्न गर्नु सहकारी तथा सेयर सदस्यका लागि सुखद पक्ष रहेको उनको भनाइ थियो ।

सञ्चालकको गलत कदमका कारण कास्कीमा केही सहकारीले जटिल अवस्था गुजार्नुपरेको बताउँदै उनले सबै सहकारी उस्तै होइनन् भन्ने कुरा स्थापित गराउन शुभम् सहकारी लागिपर्ने विश्वास व्यक्त गरे । शुभमको वित्तीय विवरण तथा तथ्याङ्कहरू राम्रो रहेको उल्लेख गर्दै उनले संस्थाको सेयर रकम अझै बढाउन सुझाव दिए ।

राज्यले तोकेका नियम कानुनलाई अक्षरशः पालना गरेर सहकारीका सिद्धान्तलाई लागु गरेर अघि बढेको खण्डमा कुनै पनि सहकारीले जोखिम मोल्न नपर्ने उनको भनाई थियो ।

संस्थाका अध्यक्ष राजन पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पन्त, सचिव कृष्ण प्रसाद पोखरेल र कोषाध्यक्ष होमराज भट्टराईले आर्थिक वर्षमा सम्पन्न भएका क्रियाकलाप तथा भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेका सेयर सदस्यका जिज्ञासालाई संस्थाका प्रबन्धक कमल प्रसाद कोइरालाले प्रस्ट पारेका थिए ।

कार्यक्रममा संस्थाका उत्कृष्ट कारोबारकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । आठ करोड २२ लाख  ४१ हजार  ९०० रुपैयाँ सेयरपूँजी रहेको संस्थाको निक्षेप संकलन एक अर्व २० करोड ९९ लाख २५ हजार ६९९ रहेको छ । संस्थामा एक हजार ८७३ पुरुष र एक हजार ४८० महिला गरी तीन हजार ३५३ सेयर सदस्य रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button