२५ औं लामाचौर तीज महोत्सव सुरु

पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव शनिबार सुरु भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा ३ दिनसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा महोत्सव संचालन हुनेछ ।

महोत्सवको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले समुद्घाटन गरे । उनले नेपाली कला संस्कृति संरक्षणमा जोड दिँदै नवआदर्शले निरन्तररुपमा आयोजना गर्दै आएको महोत्सवको सफलताको शुभकामना दिए । संस्थाको विकासमा केन्द्रले के सहयोग गर्नुपर्ने हो, त्यसका लागि आफू सधैँ तयार रहेको मन्त्री आचार्यले आश्वासन दिए । उनले रीतिरिवाज र पहिचान कसैले पनि तोड्न नहुने भन्दै यसखालका मेला महोत्सवले आर्थिक गतिविधि चलायमानमा टेवा मिल्ने बताए । संविधानले निर्दिष्ट गरेका महिलाको हक अधिकार प्राप्तिमा आफूले सक्दो पहल गर्ने उनको प्रतिबद्धता थियो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले भलिबल खेलको विकासमा नवआदर्शको योगदान अतुलनीय रहेको बताए । उनले प्रदेशमा विभिन्न खेलकुदका गतिविधि निरन्तर गर्नका लागि परिषद्ले सधैं अभिभावकीय भूमिका खेल्ने बताए ।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले विषम परिस्थितिबीच पनि महोत्सव आयोजना गरिएको बताए । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व अध्यक्ष एवं महोत्सवका अर्थ संकलन तथा टिकट व्यवस्थापन समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारी र सहसचिव हरिबहादुर थापाले संयुक्त गरेका थिए

महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका छन् । फाइनल तीजको दिन हुनेछ । महोत्सवमा विभिन्न खालका स्टल समेत छन् ।

महोत्सवको अर्को आकर्षण अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुन् । खुला तीज गीत प्रतियोगितामा १४ टिमले भाग लिएको निर्णायक संयोजक दीपक खड्काले बताए । सदस्यमा लोकगायिका ज्योति लोहनी, सीता गिरी र शान्ति गुरुङ छन् । पहिलो दिन लोकदोहोरी गायक दीपक खड्कासहित, रामजी पौडेल, ज्योति लोहनी, सीता गिरीको प्रस्तुतिमा दर्शक छमछमी नाचेका थिए । महोत्सवमा राष्ट्रिय कलाकार चिज गुरुङ, लक्ष्मी मल्ल, चोलेन्द्र पौडेल, लक्ष्मी बानियाँ, सरस्वती लामिछाने, मधु थापालगायतको पनि प्रस्तुति हुनेछ ।

तीज गीत प्रतियोगितामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । तीज गीत सुरु भए पनि १७ टिमले भाग लिएको अन्तरविद्यालयस्तरीय लोकनृत्य आइतबारमात्र सुरु हुनेछ । जसमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार पुरस्कृत गरिने अनुगमन समिति संयोजक मिलन केसीले बताए ।

महोत्सव उद्घाटन अवसरमा गण्डकी बोर्डिङका विद्यार्थीले नृत्य प्रस्तत गरेका थिए । यस्तै, इन्द्रराज्यलक्ष्मी माविबाट गत वर्षको एसइई उत्तीर्णमध्ये उत्कृष्ट छात्र सोहन कुशवाह र छात्रा श्रृया परियारलाई सम्मान गरियो । संस्थाको छात्रवृत्तिमा सरस्वती आदर्श विद्याश्रममा अध्ययनरतमध्ये एसइई उत्तीर्ण आकृती नेपाली र रिजन गायक तथा पवित्र प्रेम नारायण अक्षयकोष छात्रवृत्ति प्राप्तमध्ये कक्षा १२ उत्तीर्ण रुची गुरुङलाई सो अवसरमा सम्मान गरिएको सहसचिव थापाले बताए ।

अन्तिम दिन भलिबलको फाइनलसहित पुरस्कार वितरण एवं स्रष्टा सम्मान गरिनेछ । जसमा खेलकुदतर्फ दिलसरा राना र बास्केटबल तथा ह्याण्डबल प्लेयर जुमप्रसाद गुरुङ सम्मानित हुनेछन् । शिक्षातर्फ पश्चिमाञ्चल इन्जिनियरिङ कलेज तथा साहित्य विधामा रवीन्द्र माकाजूलाई सम्मान गरिने आयोजकले जनायो ।

महोत्सव सम्पन्न गर्न ५२ लाख ७७ हजार ५ सय खर्च लाग्ने अनुमान रहेको अर्थ संकलन तथा टिकट व्यवस्थापन समिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । महोत्सवबाट खर्च घटाइ बाँकी रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने बताइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button