गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

पोखरा, ७ असोज । पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६–७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भयो । उसले पोखरा एकेडेमीलाई १४–१३ अन्तरले पराजित गरेको हो ।

छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जित्यो । गण्डकी बोर्डिङलाई ४–२ गोलअन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो । छात्रातर्फ पनि सरस्वती आदर्श विद्याश्रम नै तेस्रो भयो । उसले ज्ञानज्योतिको चुनौती १०–० ले पन्छाएको हो ।

उपाधि विजेताले जनही १५ हजार र उपविजेताले १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रोलाई जनही ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइयो ।

छात्रतर्फ गण्डकी बोर्डिङका मनीष कुँवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षत्री उत्कृष्ट खेलाडी घोषित भए ।

पोखरा महानगर ह्याण्डबल विकास समिति आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ८ टिमले भाग लिएको आयोजक समिति सचिव सुभाष खड्काले बताए ।

विजयीलाई आयोजक समिति अध्यक्ष दीपकबहादुर गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका नि.सदस्यसचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी राम गुरुङ, कास्की ह्याण्डबल अध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।

गण्डकी बोर्डिङका प्राचार्य वीरेन्द्र खड्काले आफ्ना विद्यार्थीको उपलब्धिपछि खुसी व्यक्त गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदका क्रियाकलापमा पनि सरिक गराउनुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button