
पोखरा । मोडिफाई गरी चलाइएका दुई दर्जन बढी मोटरसाइकल आइतबार कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीका प्रवक्ता, डिएसपी श्रवण कुमार बिकका अनुसार आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड तथा साउण्ड बढी निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।
स्वरुप परिवर्तन गरिएका तथा बजार क्षेत्र र भित्री गल्लीमा चर्को आवाज निकाल्ने सवारीलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिने उनले बताए ।
पहिलो चरणमा अभिभावकलाई बोलाएर सम्झाई बुझाई कारवाही स्वरुप जरिवाना तिराउने र पछि पनि त्यही क्रम दोहोरिएको खण्डमा सवारी व्यवस्था ऐन अनुसार कडा कारवाही हुने डिएसपी बिकको भनाई छ ।
ग्यारेज, वर्कशप तथा स्टीकर हाउसले स्वरूप परिवर्तन तथा ध्वनी प्रदुषण हुने गरी मोडिफाई गर्न नपाउने उल्लेख गर्दै उनले मोटरसाइकल मोडिफाई गर्नेलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने बताए ।
स्वरुप परिवर्तन गरिएको सवारी साधनलाई कारवाही गरेबापत पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको डिएसपी बिकले जानकारी दिए ।
चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारबाही गर्दा ३ लाख २७ हजार, गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा स्वरुप परिवर्तन गरिएको सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको हो ।
पछिल्लो समय सबैभन्दा बढि मोडिफाई गर्ने मोटरसाइकलमा क्रस फायर र बुलेट रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी वरिष्ठ नायब निरीक्षक शिव प्रसाद पाठकले बताए।