पोखराको महेन्द्रपूलमा एक करोड बढी लागतको सार्वजनिक शौचालय उदघाटन

पोखरा, २६ असोज । पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । महेन्द्रपुलको उत्तर तर्फ कि.न.८२ को ५ आना क्षेत्रफलमा  शौचालय निर्माण गरिएको हो ।

पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा  निर्माण भएको शौचालय शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण भयो । महिला, पुरुष शौचालय, महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सरसहितका बेसिन तथा धाराहरू उक्त स्थानमा जडान गरिएको छ ।

शौचालयको उदघाटन गर्दै  प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताए । उनले पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

शौचालयबाट उत्पादन हुने बायोग्यासको  पूर्ण रूपमा सदुपयोग गरिने उनले बताए । बायो डाइजेस्टर भने जडान गर्न बाँकी नै छ । शौचालय अगाडी वाटर फाउन्टेनसहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ ।

यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ । शौचालय निर्माणका लागि एनआरएनएले रु ६० लाख उपलब्ध गराएको छ भने पार्क निर्माणका लागि थप रु.२० लाख प्रदान गर्नेछ ।

शौचालय निर्माणको जिम्मा लाखे विल्डर्स नेपाल प्रालिले पाएको थियो । यसको ड्रोइङ र डिजाइनको काम सर्ग आर्किटेक प्रालिले निशुल्क रुपमा गरेको हो ।

हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button