एसओएस गण्डकीमा प्रतिभा प्रदर्शनी

पोखरा ।  एसओएस हरमन माइनर गण्डकीमा प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपालीहरूका महान् पर्व बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको हो ।

प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक लक्ष्मण देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले गरेका थिए ।

विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले नेपालीहरूका महान् पर्वहरूको पूर्वसन्ध्यामा विद्यालयले हरेक वर्ष प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गर्दै आइरहेको र सोही कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको विद्यालयका सहप्राचार्य प्रभास पौडेलले बताए ।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनलाई तहगत रूपमा विभाजन गरिएको थियो । आधारभूत तहको एक र माध्यमिक तहका दुई गरी जम्मा तीन चरणमा विभाजित उक्त कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।

विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतियोगितात्मक साङ्गीतिक प्रस्तुतिको मूल्याङ्कन सङ्गीतज्ञ सञ्जीव पाल, वरिष्ठ कोरियोग्राफर मीन गुरुङ तथा हिमाली सांस्कृतिक परिवार पोखराकी सदस्य सजिना गुरुङले गरेका थिए । कार्यक्रमका विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि लक्ष्मण देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक लक्ष्मण देवकोटाकाले निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका कारण एसओएस सम्पूर्ण बालबालिकाको आकर्षणको केन्द्र बन्न सफल भएको बताए । एसओएसका विद्यार्थीहरूको प्रतिभाबाट आफू द्रवीभूत भएको बताउँदै प्रमुख अतिथि देवकोटाले यस्तै अवसर र मञ्चले विद्यार्थीहरूको जीवनमा नवीन दिशाबोध गर्ने दाबी गरे ।

विद्यालयीय शिक्षा पूरा गरेपछि विद्यार्थीहरू विदेश पलायन हुने क्रममा बढोत्तरी आइरहेको विषयप्रति चिन्ता व्यक्त गर्दै देवकोटाले सबै पक्ष मिलेर यो समस्या समाधान गर्न ढिलाइ गर्न नहुने धारणा राखे । आफ्ना विभिन्न प्रतिभाका माध्यमबाट कार्यक्रमको गरिमा अभिवृद्धि गर्ने सम्पूर्ण विद्यार्थीप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले नेपालीहरूका घरआँगानमा भित्रिनै लागेका चाडपर्वहरूका उपलक्ष्यमा समस्त शिक्षक, अभिभावक र विद्यार्थीप्रति शुभकामनासमेत व्यक्त गरे ।

समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

एसओएस स्कुलको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू रिश्मा पाण्डे, प्रश्ना पौडेल, विशेष पौडेल, गोकुल श्रेष्ठ, आयुष सुवेदी र निश्चल सुवेदीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

विद्यालयले यसअघि ५९ औँ बालदिवसका उपलक्ष्यमा गत भाद्र २९ गते कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको प्रतिभा प्रदर्शनी सम्पन्न गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button