पोखरामा डाक्टर कुटपिट र अस्पताल तोडफोड गर्ने २ जना कारागार चलान

७ जना धरौटीमा रिहा

पोखरा। पोखरामा चिकित्सकमाथि कुटपिट गर्ने तथा अस्पतालमा तोडफोडमा उत्रिएका २ जना कारागार चलान भएका छन् ।

पोखराको  मणिपाल शिक्षण अस्पतालमा तोडफोड गर्ने तथा चिकित्सकमाथि कुटपिट गर्ने पोखरा महानगरपालिका -१७ हनुमान टोल बस्ने छावा भनिने शुशिल कार्की र पोखरा -५ मालेपाटन बस्ने विनय गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की प्रहरीका अनुसार  उनीहरु लमजुङ सुन्दरबजार नगरपालिका -६ निवासी ५७ वर्षीया सुक मायाँ दुराको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड तथा कुटपिटमा उत्रिएका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै ९ जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उक्त घटनामा संलग्न रहेका बाँकी ७ जना भने एक लाख धरौटीमा तारेखमा रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकका अनुसार पोखरा -४ का सुजित मुल्मी, पोखरा -५ मालेपाटनका अभिनास गुरुङ, पोखरा -५ का अरूण गुरुङ, पोखरा -९ का नितेश गुरुङ, पोखरा -९ नागढुंगाका विवेक गुरुङ, पोखरा -२० भलामका मनिष थापा र पोखरा -११ फूलबारीका प्रदिप गुरुङ धरौटी रकम  बुझाएर तारेखमा रिहा भएका हुन्।

गत असोज ७ गते दुरा श्वाश प्रश्वास तथा ढाड दुख्ने समस्याका कारण पोखरा – ११ फुलबारी स्थित मणिपाल शिक्षण भर्ना भएकोमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो।

दुराको मृत्यु पश्चात भएको घटनामा संलग्न रहेका मध्ये पहिचान खुलेका थप १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button