नाटक ‘एक चिहान’ मञ्चन जारी

पोखरा । नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शोमार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो ।

विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटकप्रेमीसमेतको सहभागितामा विशेष शोमार्फत मञ्चन भएको थियो । नाटक हेरे पश्चात दर्शकले नाटक टीमले गरेको मेहनतको प्रंशसा गरेका थिए ।

मंगलबारबाट पोखराका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर नाटक मञ्चन गर्ने क्रम सुरु भएको हो । यो क्रम आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा निरन्तर मञ्चन हुने नाटकका निर्देशक परिवर्तनले बताए । बुकिङ शो भएपनि हेर्न इच्छुकले व्यक्तिगत रुपमा ती शोमा पुगेर नाटक हेर्न भने पाउनेछन् ।

‘एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थबादी नाटक हो । गरिबी, वाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाउन सघाएको छ ।

पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन भइरहेको नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, सुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।

नाटक हेर्दा दर्शकलाई कुनै समय हसाउँछ, कुनै समय गम्भीर बनाउँछ भने कुनै समय रुवाउँछ । उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । सहनिर्देशन अञ्जु दाहालले गरेको नाटकमा हरिदेवी कोइरालाको असारे गीतसमेत समावेश छ ।

शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुने पोखरा थिएटरले जनाएको छ । नाटक डेढ घण्टा अवधिको छ ।

यो नाटकप्रति विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको आर्कषण रहेको पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले बताए ।

चार वर्ष अगाडि पोखरा थिएटरमा नियमित सो तथा बुकिङ सो मार्फत मञ्चन गरिएको यो नाटकलाई नवलपुरमा समेत मञ्चन गरिएको थियो । यसअघि हेरेका दर्शकले समेत नाटकमा नयाँपन भेट्ने गुरुङको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button