नेपालको विजुली किन्न बंगलादेश तयार

पोखरा । बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो ।

नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समितिको बैठकमा बिजुली खरिद मूल्यबारे छलफल हुनेछ ।

३ महिनाअघि नै त्यहाँका विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्ने लगभग अन्तिम चरणमा पुगेको बताएका थिए ।

राजनीतिक र कर्मचारीको तहमा लामो छलफलपछि भारतले आफ्नो प्रसारणलाइन प्रयोग गरेर बंगलादेशलाई नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाइसकेको छ ।

बंगलादेशको पावर सेलका महानिर्देशक मोहम्मद हुसेनले भारतको भूभाग हुँदै नेपालबाट विद्युत आयात गर्न बहरामपुर–भेरमारा प्रसारण लाइन प्रयोग गरिने जानकारी दिएका छन् । योजनाअनुसार बंगलादेशले सेवा प्रदायकको रुपमा भारतीय नोडल एजेन्सी एनटीपीसी विद्युत व्यापार निगममार्फत नेपालबाट बिजुली आयात गर्ने छ ।

नेपालबाट बंगलादेशमा विद्युत बेच्न गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर हुनुपर्छ ।

एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल-भारतबीच विद्युत आयात-निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button