जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउँछौँ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको ३२औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

जनप्रिय क्याम्पसको शैक्षिक क्षेत्रको उन्नयन र गुणस्तरीय शिक्षाका लागि खेलेको भूमिका निकै प्रशंसनीय रहेको उनले स्पष्ट पारे ।

क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक गतिविधि उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा प्राविधिक र सीपमूलक शिक्षामा पनि ध्यान दिन मन्त्री थापाले आग्रह गरे ।

क्याम्पसका पूर्व कार्यवाहक अध्यक्ष परशुराम बरालले क्याम्पसले देखेका सपना साकार बनाउन र रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागू गर्न आवश्यक रहेको बताए । प्राध्यापकले राम्रो पठन-पाठन गराउँदा गुणस्तर कायम रहने भएकाले त्यसतर्फ क्याम्पस अग्रसर रहनुपर्ने उनले खाँचो औंल्याए ।

क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख लोकराज भण्डारीले जनप्रिय क्याम्पसले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता जनाए । उनले पञ्चवर्षीय रणनीतिक योजनाअनुरूप मानित विश्वविद्यालय बनाउन लागेको स्पष्ट पारे ।

क्याम्पसको पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ५० हजारभन्दा बढी विषयगत पुस्तक राखिएको उनले बताए । क्याम्पसले स्वायत्त कार्यक्रम अन्तर्गत स्नातक त,ह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको भण्डारीले उल्लेख गरे ।

क्याम्पस प्रमुख भण्डारीले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति सुविधा छुट्याएको भन्दै चालु आर्थिक वर्षका लागि २० करोड बढीको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय इकाईका अध्यक्ष विकास थापा मगर, कर्मचारी संघका अध्यक्ष देवी पनेरु, विद्यार्थी संघ संगठनका प्रतिनिधि लगायतले क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका प्राध्यापक डा. चूडामणि कडेँल र कर्मचारी कर्मचारी कुमार गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै, संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट कर्मचारी ठूलीमाया विश्वकर्मालाई प्रदान गरिएको छ ।

क्याम्पसमा विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई उक्त अवसरमा छात्रावृत्ति प्रदान गरिएको थियो ।

साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिबल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल, चित्रकला प्रतियोगिताका वितेजालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

जनप्रिय क्याम्पसमा प्रातः र दिवा सत्रमा गरी चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जनप्रिय क्याम्पसले दुई पटक देशभरिका एक हजार ९६ सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।

विश्वविद्यालय अनुदान आयोगको छनोटमा परेको क्याम्पसले दुई पटक गुणमापन तथा प्रत्यायानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठहरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button