पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विविध विषयमा छलफल

पोखरा । प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा छलफल गरिएको छ ।

अमेरिकी सरकारको सहयोग र नीलहिरा समाजको समन्वयमा बिहीबार पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भूमिका श्रेष्ठले लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता सम्बन्धी बुझाइका विषयमा आफ्नो प्रस्तुति राखेकी थिइन् ।

समुदायको उचित परिभाषाका साथमा समाजमा भोग्नुपरेको समस्याका विषयमा उनले अन्तरक्रियामा जानकारी गराइन् ।

यस्तै, नीलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायले समाज तथा परिवारबाट भोग्नु परेको विभेदका विषयमा जानकारी गराएकी थिइन् ।

परिवार हुँदै समाजबाट विभेद भोग्नुपरेका कारण समुदायका व्यक्तिले प्रगति गर्न नसकेको उनको भनाइ थियो । साथै पहिचानसहितको नागरिकता प्राप्त गर्न निकै कठिन रहेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवण कुमार बिकले प्रहरीको भूमिका विषयमा प्रस्तुति राखेका थिए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा प्रहरी निकै संवेदनशील रहेको र सबैलाई समान नजरले हेर्ने गरिएको उनले बताए ।

कोही कसैले हिंसा भोग्न नहुने र स्वतन्त्ररुपमा सम्मानजनक तरिकाले बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रहरी प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका अधिकृत मोहन काफ्लेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा राज्य तथा सरोकारवालाहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए । यस समुदायका विषयमा समाजमा अझै सचेतना फैलाउनुपर्ने उनको भनाइ थियो ।

नौलो बिहानी पोखराकी कार्यालय प्रमुख रजनी थकाली ‘फूपू’ ले समुदायको बुझाइमा सुधार आएको बताइन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफूले भोगेका समस्या अन्तरक्रियामा सुनाएका थिए ।

अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्य लगायत सहभागी थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button