पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ४०औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी कविवरको जन्मस्थल पोखरा-२७ स्थित अर्घौं अर्चलेमा मनाइएको छ ।
कविवरको जन्म दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उनको जन्मस्थल अर्घौं अर्चलेमा विविध कार्यक्रम हुँदै आएका छन् । विसं १९४१ को पुस १५ मा कास्कीको अर्घौं अर्चलेमा जन्मिएका कविशिरोमणिको जन्मजयन्तीका अवसरमा आज उनको जन्मथलोमा मूल कार्यक्रम आयोजना गरी विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
कविशिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ पत्रकार मञ्चलगायत संस्थाद्वारा आयोजित कविवरको जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नाका साथै पुरस्कृत गरिएको छ ।
कार्यक्रमममा लेखनाथ साहित्य पुरस्कारद्वारा पोखराका साहित्यकार एक सय तीन वर्षीय गोपाल वैद्यलाई सम्मान गरिएको छ भने उक्त पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।
यसैगरी, कुन्तीदेवी साहित्य पुरस्कारद्वारा साहित्यकार भागिरथी श्रेष्ठ र लेखनाथ सांस्कृतिक पुरस्कारद्वारा लोक सांस्कृतिक समूह पोखरा-२६ लेखनाथलाई सम्मान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार र सम्मानपत्र छन् ।
त्यसैगरी पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार दीपक परियारलाई लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारद्वारा सम्मान गरियो । उक्त पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र रहेको छ ।
सम्मानित व्यक्तित्वहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार अर्पण गरेका थिए ।
सो अवसरमा नगर प्रमुख आचार्यले कविशिरोमणि नेपाली भाषा र साहित्यका महान् सर्जक भएको बताए । लेखनाथको जन्मस्थल अर्चलेलाई साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको जानकारी उनले दिए ।
कविशिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीनाथ पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमा लेखनाथका कवितावाचन समेत गरिएको थियो ।
कविशिरोमणिका ऋतुविचार, तरुण तपसी, गङ्गा गौरीसहितका महाकाव्य, लालित्य कविता सङ्ग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य र अन्य फुटकर कविताहरु प्रकाशित छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution