म्याग्दी हत्या प्रकरण : मृतकको संख्या २ पुग्यो, घाइतेको पोखरामा उपचार जारी

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।

धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका-७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

“प्रियङ्काकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका-७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो”, उनले भने , “हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।”

चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले जानकारी दिए।

हजुरआमालाई दरवाङ-मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार भएको थियो ।

प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो ।

प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका-७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

“एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ”, डिएसपी कुँवरले भने, “विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्यसहित सबै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौँ ।” मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button