
पोखरा । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी यस वर्ष पनि मनाइँदै छ ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा पोखरासहित देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
पोखरामा पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भव्य र्यालीसहितको सभा हुने राष्ट्र गौरव अभियानका संयोजक सिरोज विजय कोइरालाले जानकारी दिए ।
संयोजक कोइरालाका अनुसार शुक्रबार बिहान ११ बजे पोखराको चिप्लेढुंगाबाट भव्य र्यालीसहित पृथ्वीचोकमा पुगेर सभामा परिणत हुनेछ ।
यता राप्रपा नेपाल कास्कीका अध्यक्ष नारायण गुरुङका अनुसार शुक्रबार बिहान ८ बजे पोखराको राष्ट्रिय विभूति पार्क जामुनबोटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
यस्तै, राष्ट्रनिर्माताको सम्मानमा बिहान अमरसिंहचोकदेखि पृथ्वीचोकसम्म राष्ट्रवादी र्याली सुरु हुनेछ । र्याली समापनपछि दिउँसो १ बजे सभा हुनेछ ।
सभालाई राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र इतिहासविद् हरिप्रसाद सोडारी संवोधन गर्नेछन् ।





