घान्द्रुकस्थित मेश्रम वराह माविको हीरक जयन्ती सुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको हीरक जयन्ती सुरु भएको छ ।

विद्यालयका संस्थापक तथा जग्गादाता लक्ष्मण गुरुङको शालिकमा माल्यार्पण, हीरकद्वार उद्घाटन तथा हीरक स्तम्भ शिलान्यास गरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले हीरक जयन्ती शुभारम्भ गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले शैक्षिक विकासमा विद्यालयको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष चन्द्रकला अधिकारी, शिक्षा विकास समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, वडा ११ का अध्यक्ष हिमबहादुर गुरुङ लगायतले शिक्षाको महत्व र शिक्षण सिकाइबारे चर्चा गरेका थिए ।

मूल समारोह समिति संयोजक लक्षिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भलिबल र छात्र बास्केटबल प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरियो ।

यस्तै, गाउँपालिका स्तरीय महिला शिक्षक भलिबल, घान्द्रुकमा कार्यरत अन्तरसंस्था सेभेन ए साइड फुटबल प्रतियोगिताका विजेतालाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।

यसैगरी विद्यार्थीलाई अनुशासन, व्यक्तिगत सरसफाइ पुरस्कार, उत्कृष्ट पिटी प्रदर्शन पुरस्कार, कक्षागत शैक्षिक पुरस्कार, विभिन्न छात्रवृत्ति, एसइईमा उत्तीर्ण भई ग्रेड बिदेखि माथि ल्याउने विद्यार्थी छात्रवृत्ति र पुरस्कार, कक्षा ११ र १२ उत्तीर्ण ग्रेड बी देखि माथि ल्याउने विद्यार्थी छात्रवृत्ति र पुरस्कार प्रदान गरियो ।

विद्यालयबाट हालसम्म करिब ७ सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेको प्रधानाध्यापक यमप्रसाद भण्डारीले बताए ।

उनले स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआति गन्तव्य समेत भएको स्पष्ट पार्दै आगामी दिनमा होटल व्यवस्थापनको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच रहेको सुनाए ।

हीरक जयन्ती सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ । यसै सन्दर्भमा विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थ संकलन उपसमिति संयोजक ललित गुरुङले बताए ।

सो अवसरमा भलिबल, फुटबल, बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक/विद्यार्थी पुनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान गरिनेछ ।

तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम वराह मिडिल स्कुल स्थापना गरिएको थियो ।

२०३४ माघ १८ देखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ पुस १६ मा कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो ।

विद्यालयले २०३६ पुस १८ देखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेकोमा २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन गरेको जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button