प्रधानमन्त्रीका भाइ नारायण दाहाल राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाहाल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

नारायणप्रसाद दाहाल २०७८ मा सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा मनोनित भए थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

उनी २०६४ मा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित दाहाल २०७० मा सोही क्षेत्रबाट पराजित भएका थिए ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । यही फागुन २९ गते मङ्गलबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते लिने विश्वासको मतका सम्बन्धमा पनि छलफल भएको थियो । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सोही दिन विश्वासको मत लिने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button