पोखरा । पोखरा महानगरपालिका-१४ बाच्छीबुढुवास्थित सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ ।
पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिर गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीले शुभारम्भ गरे ।
वर्षेनी कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो ।
सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३ लाख १२ हजार रूपैयाँमा पुनःनिर्माण भएको हो ।
सो अवसरमा सांसद केसीले सेतीले गरेको कटान र वृद्धाश्रमको बारेमा आफूले संसदमा आवाज उठाइरहेको र आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने बताए ।
‘मेरो निर्वाचन क्षेत्रमा अरू वडा पनि पर्छन् । अरू ठाउँमा पनि मैले योगदान गर्नु मेरो दायित्व हो,’ सांसद केसीले भने, ‘आफू हुर्के–खेलेको ठाउँ भएकाले मन्दिर र वृद्धाश्रमको मलाई माया छ ।’
उनले वृद्धाश्रमलाई व्यवस्थित बनाउन आफूले प्रदेश सरकारसँग माग गरेको र त्यसको फ्लोअप गर्ने सुनाए ।
कार्यक्रममा पोखरा-१४ का वडाध्यक्ष बोधबहादुर कार्की, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्ण कार्की, मन्दिर पुनःनिर्माण समिति अध्यक्ष गुञ्जबहादुर कार्की, स्थानीय कमलनयन गौतमलगायत सहभागी थिए । कार्यक्रम सञ्चालन मन्दिर पुनःनिर्माण समिति सचिव रेशम जिसीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution