वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार डा. जगन्नाथ रेग्मीलाई प्रदान

पोखरा । बागलुङ नगरपालिकाले स्थापना गरेको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार पर्वतका साहित्यकार प्राध्यापक डा जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष प्रेम छोटाले रेग्मीलाई पुरस्कार प्रदान गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नगरपालिकाले रु पाँच लाख अक्षयकोष स्थापना गरेपछि पहिलो पटक रु २५ हजार राशिको उक्त पुरस्कार रेग्मीलाई दिइएको हो ।

नेपाली भाषा साहित्य मात्र नभइ संस्कृत भाषा साहित्यका अग्रणी वीरशाली पन्तको स्मृतिमा कोष स्थापना भएको हो ।

पन्त विसं १८४९ मा बागलुङ नगरपालिका-७ को गैरागाउँमा जन्मिएका थिए । उनले दर्जनौँ कविता तथा आधादर्जन महाकाव्यसमेत लेखेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले वीरशाली पन्तको स्मृतिमा पुरस्कार दिने काम मात्र नभइ वर्षभरि विभिन्न गतिविधि र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

त्यसका लागि नगरपालिका सहयोगी भए पनि साहित्यको क्षेत्रमा क्रियाशील सङ्घ-संस्थाले नियमित कार्यक्रममा जोड्नुपर्ने खड्काले बताए ।

पुरस्कार वितरण समारोहमा नेपाली भाषा र साहित्यको विकास नहुँदै वीरशाली पन्तले दिएको योगदानलाई राज्य तहबाटै स्मरण र सम्मान गर्नुपर्ने धारणा साहित्यकारहरुले राखे ।

धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्राडा रामप्रसाद उपाध्याय, पुरस्कृत व्यक्तित्व रेग्मी, साहित्यकार काजी रोशन र वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठलगायतले पन्तलाई राष्ट्रिय विभूति मान्नुपर्ने बताए ।

डा रेग्मीले पन्तको योगदानको राष्ट्रिय चर्चा नभएको बताए । “काठमाडौँ वा अन्य सहरी क्षेत्रमा जन्मेको भए वीरशाली पन्तको नाउँमा राजमार्ग बन्न सक्नथ्यो”, रेग्मीले भने, “हामीले सम्झने अवसर पायौँ तर अझै मेहनत गरेर उहाँलाई चिनाउनुपर्छ ।”

रेग्मी पर्वतको जलजला गाउँपालिका निवासी छन् । नेपाली भाषा र साहित्यमा रेग्मीको पनि योगदान छ । रेग्मीले दर्जनबढी साहित्यिक, खोज तथा अन्वेषणका कृति प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button