सदस्यहरूमाझ अन्तरक्रियाको साथमा शुभमको भित्तेपात्रो विमोचन

पोखरा, ०५ वैशाख । पोखराको शुभम् बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । संस्थाले बुधबार राम नवमीको दिन सदस्यहरूमाझ अन्तरक्रिया कार्यक्रम आयोजना गरी नयाँ वर्षको शुभकामना आदान प्रदानसहित पात्रो विमोचन गरेको हो ।

पोखरा २२ स्थित कालावाङ्ग नियालेडाँडामा प्रमुख अतिथि कास्की बचत संघका अध्यक्ष शेरबहादुर कार्की, अतिथिहरू उपाध्यक्ष ईश्वर सुबेदी, कोषाध्यक्ष केशवशरण पौडेल, लेखा संयोजक केशवराज ढकाल, लोक दोहोरी कलाकार श्रीराम अधिकारी, चन्द्रावती कार्की तथा  सहकारीका अध्यक्ष राजन पन्तले संयुत रूपमा भित्तेपात्रो विमोचन गरे ।

कार्यक्रममा बोल्दै कास्की बचत संघका अध्यक्ष कार्कीले पछिल्लो समय सहकारीहरूमा समस्या देखिएको बेला शुभम् सहकारी राम्रा सहकारी मध्ये टप १० भित्र पर्छ भन्ने दाबी सुन्दा खुसी लागेको बताए । उनले सहकारी संस्था आफू एक्लै सुरक्षित छु भनेर बस्न नहुने र छिमेकमा देखिएको समस्यालाई समेत मनन गरेर अघि बढ्नुपर्ने बताए । तपाईँहरूको संस्था यहाँका राम्रा सहकारीमध्ये टप १० भित्र पर्छ भन्ने सुन्दा म खुसी छु’, उनले भने,’ तर सँगै छिमेकमा रहेको सहकारी बिग्रँदा त्यसको असर छिमेक मै पर्ने भएकाले संस्थाले आफू मात्र सुरक्षित छु भनेर नबसी आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्छ ।

आफू अध्यक्षमा निर्वाचित भएर आएको तीन महिनाको अवधिमा थुप्रै सहकारीको साधारण सभामा अतिथिको रूपमा सहभागी भएको बताउँदै उनले राज्यलाई कर तिर्न एउटा र बोनस खान अर्को गरी दुई थरी वित्तीय विवरण राख्ने सहकारी नै अहिलेको अवस्थामा समस्याग्रस्त रहेको बताए ।

जीबी राईको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष कार्कीले सहकारीमा बचत कर्ताको रकम हिनामिना गर्नेलाई राजनीतिक संरक्षण दिइएको दाबी गरे ।

कास्की बचत संघका लेखा संयोजक केशवराज ढकालले सहकारीले अहिलेको अवस्थामा आफूलाई सवाल तुल्याउँदै अघि बढेको थाहा पाउँदा खुसी लागेको बताए । सहकारीको वास्तविक मर्म अनुसार अघि बढ्ने  सहकारीहरूमा समस्या नरहेको उनको भनाई थियो ।

संस्थाका अध्यक्ष राजन पन्तले सहकारीका सदस्यहरूको विश्वास र सिङ्गो संचालक समिति, शुभेच्छुक र कर्मचारीहरूको योगदानका कारण सहकारी सहज अवस्थामा रहेको बताए । उनले सहकारीले आयोजना गरेको अन्तरक्रियाले सदस्यहरूमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।

सहकारीका कोषाध्यक्ष होमराज भट्टराइले सहकारीहरूमा समस्या देखिन थालेपछि शुभमको कार्यालयमा अवस्था बुझ्न पुग्ने सेयर सदस्य संस्थाको वित्तीय अवस्था बुझेपछि खुसी भएर फर्कने गरेको अनुभव सुनाए ।

कार्यक्रममा सांस्कृतिक संयोजक रहेका संस्थाका उपाध्यक्ष सूर्य प्रसाद पौडेलको साथमा लोकप्रिय कार्यक्रम इन्द्रेणीका सहसंयोजक लोक दोहोरी कलाकार श्रीराम अधिकारी, कलाकार चन्द्रावती कार्की लगायतले सेयर सदस्य तथा अतिथिहरूलाई मनोरञ्जन दिलाएका थिए ।

संस्थाका शिक्षा समिति संयोजक सीता देवी बरालको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सचिव कृष्ण प्रसाद पोखरेलले गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा व्यवस्थापक कमल कोइरालाले अन्तरक्रियाको साथमा सदस्यहरूमाझ संस्थाको हालसम्मको वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button