दशैँ टिकाकै दिनमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ आश्विन २६
दशैँ टिकाकै दिनमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

मकवानपुर । करेन्ट लागेर शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ चिसापानीमा दुई बालिकाको ज्यान गएको छ ।

चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका-१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका-१६ निवासी सात बर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए ।

बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

मृतक दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस