‘स्मृतिमा श्रीमान् थुलुङ’ स्मृति ग्रन्थ पोखरामा विमोचन

पोखरा । गायक सङ्गीतकार एवं गीतकार श्रीमान् थुलुङको स्मृतिमा प्रकाशन गरिएको ‘स्मृतिमा श्रीमान् थुलुङ’ स्मृति ग्रन्थ बुधवार पोखरामा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त श्रेष्ठले स्मृति ग्रन्थको विमोचन गरे ।

कार्यक्रममा बोल्दै श्रेष्ठले स्मृति ग्रन्थले स्वर्गीय श्रीमान् थुलुङलाई धेरै वर्षसम्म सम्झाइरहने बताए । ‘यो स्मृति ग्रन्थले थुलुङलाई धेरै वर्षसम्म सम्झाइरहनेछ, उहाँलाई चिर स्थायी बनाउन भूमिका खेल्नेछ’ सरुभक्तले भने । थुलुङको सम्झनामा उनको परिवारको सक्रियता र सहयोगी मनको सहकार्यमा अक्षयकोष स्थापना गरी वर्षे नि एक जना सङ्गीत क्षेत्रमा लागेको प्रतिभालाई सम्मान गर्ने कार्यको थालनी गर्न खोजेकोमा समेत उनले खुसी व्यक्त गरे ।

स्मृतिमा श्रीमान् थुलुङ स्मृति प्रकाशन समितिका संयोजक डी.बी.राईको अध्यक्षतामा भएको विमोचन समारोहमा समीक्षात्मक टिप्पणी अनुज कुलुङले गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य श्रीनाथ बराल, त्रिवेणी संगीतालयका प्रमुख नवराज बराल, पूर्वाञ्चल सेवा समाजका कास्की अध्यक्ष गोपाल खड्का, किराँत सेवा समाजका कास्कीका अध्यक्ष लोकेन्द्र राई, संरक्षक डा.लक्ष्मी प्रसाद राई, स्मृतिमा श्रीमान् थुलुङ स्मृति प्रकाशन समितिका सम्पादक अनुराग अधिकारी, रुपिन्द्र प्रभाविले थुलुङको बारेमा बोलेका थिए । स्मृति राई, सङ्गीता राई र उमेश राईले थुलुङको सम्झनामा गीत सुनाए ।

थुलुङको २०७५ साल चैत्र २७ गते अकल्पनीय दुर्घटनामा परी निधन भएको थियो । उनको प्रथम स्मृति दिवसको अवसरमा विमोचन गर्ने तयारी गरिएको भए पनि विश्वभर महामारीको रूपमा फेलिएको कोभिड १९ को महामारीका कारण स्मृति दिवसको दिनमा विमोचन हुन सकेन । तर बुधवार थुलुङको ५५ औँ जन्म जयन्तीको अवसर पारेर स्मृति ग्रन्थ विमोचन गरिएको प्रकाशन समितिका संयोजक राईले प्रस्टाए ।

स्मृति ग्रन्थ बिक्रीबाट आएको रकमबाट श्रीमान् थुलुङको सम्झनामा अक्षयकोष स्थापना गरी हरेक वर्ष सङ्गीतको क्षेत्रमा अगाडि बढ्ने सङ्गीतकर्मीलाई सम्मान गरिने राईले जानकारी दिए । स्मृति ग्रन्थको प्रकाशक तराना म्युजिक सेन्टर र संरक्षक थुलुङकी श्रीमती विमला राई रहेकी छन् । स्मृति ग्रन्थमा ४६ शीर्षकमा ४६ जना विभिन्न क्षेत्रका व्यक्तिले श्रीमान् थुलुङको बारेका लेखेका लेख समावेश गरिएको छ ।

जन्मथलो पोखरा नभए पनि कर्मथलो पोखरालाई बनाई थुलुङ साङ्गीतिक क्षेत्रमा सक्रिय थिए । उनको जन्म पूर्वाञ्चलको सोलुखुम्बु जिल्लामा भएको हो । २०५० सालमा थुलुङ भाषाको गीत ‘बान्तालङ मेनु ल म्यो दयुखा’ मार्फत रेडियो नेपालमा स्वर परीक्षा उनले उत्रिर्ण गरेका थिए ।

पोखराको सयपत्री सङ्गीत प्रशिक्षण केन्द्रमा ९ वर्ष सङ्गीत प्रशिक्षकको रूपमा काम गरेपछि आफैले तराना म्युजिक सेन्टर स्थापना गरेका थिए । दैनिकरुपमा गायन प्रशिक्षण, तबला बाँसुरी, गितार, मादल, ढोलकका नयाँ प्रतिभा पोखरामा उत्पादन गर्न उनको महत्त्वपूर्ण योगदान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button