साग व्याडमिन्टन सामाग्री खरिद प्रकरणः छानबिन उपसमितिले सोमवार सम्ममा प्रतिवेदन वुझाउने

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग)  अनियमितता तथा छानबिन गर्न गठित उपसमितिले    छानविनको प्रतिवेदन वुझाउने तयारी गरेको छ ।

छानविनका लागि पोखरा आएको छानविन उपसमिति का संयोजक गोविन्द प्रसाद भट्टराईले उपसमितिले सोमवार सम्ममा प्रतिवेदन वुझाउने गरि कामलाई निस्कर्षमा पुर्याउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो–“हाम्रो काम करिव करिव सम्पन्न हुने अवस्थामा छ, पोखरामा नै खेल भएका कारण यहाँको समेत निरीक्षण का लागि हामी आएका हौं, भोली हामी काठमाडौ फर्किएपछि सोमवार प्रतिवेदन सिफारिस सहित वुझाउँछौ ।”

युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्माको निर्देशनमा राष्ट्रिय खेलकुद परिषदले गत साउन ३० गते ५ सदस्यीय  छानविन समिति  गठन गरेको थियो । उपसमितिलाई छानविनका लागि २१ दिने म्याद दिए पनि कोरोनाका कारण भएको लकडाउनले परिषदले थप एक साताको म्याद थप गरेको थियो ।

छानविन टोलीले आज नै पोखरा रंगशाला पुगेर व्याडमिन्टन कोर्टको निरीक्षण समेत गरेको छ भने साग तयारीका वेला खरिद भएका विभिन्न खेलकुद सामाग्रीहरुको समेत निरीक्षण गरेको छ ।

छानविन पछि कुरा गर्दै राष्ट्रिय खेलकुद परिषदका (राखेप)का सदस्य समेत रहेका छानविन उपसमिति का संयोजक भट्टराईले १३ औं सागमा भएका अनियमितताका विषयमा धेरै निवेदनहरु राखेपमा आउन थालेको बताउँदै कुन तहबाट कसरी अनियमितता भएको छ त्यसको गम्भिर छानविन गरिने उहाँले बताउनुभयो । “गणतन्त्र पछि नेपाली नागरिकलाई खुसी दिने मध्येको साग खेलकुद नै थियो तर केही सानो व्यवस्थापनको कमजोरीका कारण यस्ता कुरा वाहिर आएका हुन,” उहाँले भन्नुभयो ।

५१ वटा स्वर्ण पदक जितेर सवैले गर्व गर्ने वेला यस्ता कुराहरु सार्वजनिक हुनु दुखद रहेको बताउँदै समग्र नेपाली खेलकुद व्यवस्थापनको कमजोरी रहेकोले यस्ता कुराहरु वाहिर आएको उहाँले बताउनुभयो । उहाँले अवको नेपाली खेलकुद आधुनिक खेलकुदको व्यवस्थापनका लागि नयाँ चुनौतीका साथ अघि वढ्नुपर्ने बताउँदै अवको ४ वर्ष खेलकुदमा यस्ता कुराहरु सुन्न नपर्ने उहाँले दावी गर्नुभयो । “हिजोको खेलकुद कसरी अगाडी वढ्यो भन्नु भन्दा पनि अहिले आधुनिक ढङले अगाडी वढ्ने प्रयास हुनेछ” उहाँले थप्नुभयो–“चार वर्ष भित्र हामी सवै कुराहरुलाई व्यवहारमा उर्तादै नेपाली खेलकुदको व्यवस्थापन पक्षलाई आधुनिक बनाउने प्रयास गर्नेछौं जसले गर्दा फेरि यस्ता कुराहरु दोहरिने छैनन ।”

अहिले खेलकुदमा भएका अनियमितता संस्थागत भन्दा पनि व्यक्तिगत भएको छानविनका क्रममा देखिएको बताउँदै ति कुरा सवै प्रतिवेदनमा औल्याउने .उहाँले बताउनुभयो । “यो छानविनले चार वर्ष पछि यस्ता अनियमितता वा गडवडी नहोस भन्नका लागि राखेप प्रतिवद्ध छ” उहाँले भन्नुभयो–“यो घटनाले खेलकुद वृतमा एकप्रकारको निरासा छाएको छ, त्यो निरासालाई चिर्न राखेप अगाडी वढेको छ, त्यसमा हामी चुक्दैनौ ।”

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सुवास श्रेष्ठले व्याडमिन्टनमा जुत्ता, म्याट, र्याक्ट फलोरिङ, लगाएत अन्य खेल सामाग्रीमा अनियमितता भएको पाएपछि आफूले जोडदार रुपमा उठाएको बताउनुभयो । त्यसैको छानविनको सिलसिलामा पोखरा आएको जानकारी गराउँदै वास्केटवल, कराते, तेक्वान्दो, ह्याण्डवल लगाएत अन्य आधा दर्जन भन्दा वढी खेलकुदका सामाग्री खरिदमा अनियमितता भएको जानकारी आफूले प्राप्त गरिसकेको बताउँदै उहाँले व्याडमिन्टनको टुङ्गो लाग्ने वित्तिकै अन्य खेलकुदका वारेमा अनुसन्धान हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“पहिला म हाम्रो समितीमा यो कुरा उठाउँछु, त्यहाँवाट सम्भव नभए म सवै कुरा सार्वजनिक गर्नेछु ।”

खेलकुदमा अनियमितताका कुरामा कसैसँग सम्झौता नहुने बताउँदै राखेप सदस्य श्रेष्ठले गल्ती गर्नेलाई छानविन पछि कडा कार्वाही हुने बताउँदै कोभिडका कारण छानविनमा ढिलाई भएको देखिएपनि सागमा खरिद भएका र अन्य भए गरेका सवै कुराहरु छानविनको दायरामा ल्याएर छाडिने उहाँले बताउनुभयो ।

छनाविनका लागि उपसमितिका संयोजक भट्टराई सहित राखेपका कानुन शाखा प्रमुख नारायण राज अर्याल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीको निर्देशक महेन्द्र राई, लेखा प्रमुख पासाङ शेर्पा पोखरा आएका छन । उनीहरु छानविन उपसमितीका सदस्यहरु समेत हुन । यसै विच छनाविन उप समितिसहित राखेपको टोलीले पोखरा रंगशाला पुगेर क्रिकेट रंगशालामा अलपत्र अवस्थामा रहेका खेलकुद सामाग्रीहरु लगाएत अन्य सामाग्रीहरुको निरिक्षण समेत गरेको छ । टोलीले पोखरा लेकसाइडमा रहेको विच भलिवल कोर्टको समेत निरिक्षण गरेको छ ।

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगएत कर्मचारीहरुले आफ्ना समस्याका वारेमा भनाई राखेका थिए । कार्यालय प्रमुख योगीले १३ औं सागमा खर्च भएको करिव १ करोड ८५ लाख निकासा नहुँदा समस्या थपिएको जानकारी टोली समक्ष गराउनुभएको थियो । सो अवसरमा राखेप सदस्य सम्पन्न श्रेष्ठले सागमा भएको खर्चको रकम निकासाका लागि आफूले पहल सुरु गरेको बताउनुभयो ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button