पर्वतको पैयूँमा फोहर फाल्न शुरु

पोखरा न्यूज । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न थालेको छ । बढ्दो शहरीकरणसँगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको रुपमा रहेको थियो ।

गाउँपालिकाले जग्गाको अभावमा अहिलेसम्म फोहर व्यवस्थापन गर्न सकेको थिएन । हालै गाउँपालिकाले हातेमालो चोकबाट दुई किलोमिटर टाढा वडा नं १ टकलाकको घ्याङ्सिङमा ल्याण्डफिल साइट बनाएर फोहर व्यवस्थापन गर्न थालेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरी फोहर फाल्न शुरु भए पनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताउनुभयो ।

कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गर्ने र फोहर प्रशोधन गर्ने योजना बनाइएको पौडेलले बताउनुभयो । फोहर थुपार्ने मात्रै नभई प्रशोधन केन्द्रसमेत बनाउने गाउँपालिकाको योजना रहेको र त्यसका लागि रु पाँच करोड खर्च लाग्ने अनुमानका साथ पूर्वाधार निर्माणको पहल भएको पौडेलले बताउनुभयो । गाउँपालिकाले फोहर फाल्न ६२ आना जग्गा खरीद गरेको हो । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बजार क्षेत्रमा चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन कार्य अब सहज भएको बताउनुभयो । फोहरका कारण बजार क्षेत्र दुर्गन्धित हुने समस्या हट्ने तिवारीले बताउनुभयो ।

स्थानीयवासीले घर र घरबाहिरको फोहर डस्टबिनमा जम्मा गरेर खोलाखोल्सीमा फाल्ने, जलाउने गरेका थिए । गाउँपालिका स्थापना हुँदादेखि नै फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउने योजना भए पनि अहिले बल्ल जग्गा पाएपछि योजना पूरा भएको तिवारीले बताउनुभयो । जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिकाले मात्रै व्यवस्थित तरिकाले फोहर व्यवस्थापन गर्दै आएको छ ।

मोदी गाउँपालिकाको फोहर अहिले पनि मोदीखोला र सडक छेउमा विसर्जन गर्दै आएको छ । फलेवास नगरपालिका, बिहादी र महाशीला गाउँपालिकामा पनि फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अभाव छ भने जलजला गाउँपालिकाले पनि यसै वर्षदेखि फोहरको व्यवस्थापन कार्यलाई स्थानीय सङ्घसंस्थालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button