म प्रेमिल आधुनिक गीत रचना गर्न मन पराउँछु : राजेन्द्र अधिकारी अपूर्णा

साथी ‘सरू’ को प्रेरणाबाट गीत लेख्न शुरू गरे

पोखरा न्यूज । गीतकार राजेन्द्र अधिकारी अपूर्णाको जन्म २०३० साल श्रावण २२ गते पोखराको लेकसाइडमा भएको हो ।

बुबा तोपबहादुर अधिकारी र आमा ईन्द्रदेवी रानाको सन्तानको रुपमा जन्मनुभएका अधिकारीमा बाल्यकालदेखिनै गीत संगीतको क्षेत्रमा रुचि थियो । सोही कारण उहाँ सांगीतिक क्षेत्रमा अगाडि बढ्न हौसिनुभयो । फुटकर मुक्तक, छोटा कविता र गजल जस्ता संरचना रचना गर्दै साहित्यक यात्रा शुरु गर्नुभयो । यसरी साहित्य सिर्जना गर्दा साथीबाट पाएको सर्पोट र प्रेरणाबाट उहाँ गीत रचनामा लाग्न उत्साहित हुनुभयोे ।

उहाँले हालसम्म धेरै गीत रचना गर्नुभएको छ । कर्ड भएका गीत मात्र ४० वटा को हाराहारीमा पुगिसकेका छन् । सबै खालका गीत रचना गर्ने खुबी उहाँमा रहेको छ ।उहाँले सिन्जा ब्यान्डको एल्बम सिन्जा, मिर्मिरे ब्यान्डको एल्बम बालापन, ब्रोसिस् ब्यान्ड, ऐजु ब्यान्ड, संगीतकार दीपक भट्टराईको प्रथम स्मृति एल्बममा गीत रचना गर्नुभयो । पानीमान्छे, मिशन भाईरस्, मार्केट जस्ता चलचित्रका गीत मात्र नभएर आफ्नै एल्बम खुला आकाशका गीतलेसमेत उहाँलाई गीतकारको रुपमा दह्रोगरी उभ्यायो । उहाँले रचना गरेका दाङगसिङ मोहोरीया, काहूँ डाँडा, मुस्ताङ लगायतका गाउँ चिनारी गीत, ‘हाम्री नेपाल आमा’, ‘नेपाल आमाका सन्तति हामी’ लगायत राष्ट्रिय गीतहरूको बेग्लै महत्व रहेको छ ।

पोखरा सांंगीतिक कलाकार संघ, नेपालको सचिव समेत रहनुभएका गीतकार अधिकारी पोखरा फिल्म सोसाईटीको उपाध्यक्ष र ईगल आई क्रियशन, नाट्यसमुहको सदस्य कलाकार हुनुहुन्छ । उहाँ अभिनयको माध्यमबाट समेत धेरैमाझ परिचित हुनुहुन्छ । अभिनय प्रति उहाँको औधी लगाव छ । यसपाली गीतकार अधिकारीसँग सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंको गीत लेखन यात्रा कसरी शुरु भयो ?

सुरूमा म फुट्कर मुक्तक, छोटा कविता र गजल जस्ता संरचनाहरू लेख्थें । पछि एकजना सरू नामकी साथीको प्रेरणाबाट गीत लेख्न शुरू गरेको हुँ । मलाई गीतकार बनाउनमा विशेष साथी सरू, साथी गायक सागर शाह (एन.जे.) र सिन्जा ब्यान्डको विशेष भूमिका छ ।
कस्ता गीत रचना मनपर्छ ?
विशेष गरी म प्रेमिल आधुनिक गीत रचना गर्न मन पराउँछु । तर, जीवनकालमा राष्ट्रप्रेमका गीत, लोक गीत, लोक पप, पप, र्याप, गाउँ चिनारी, नेपाली चलचित्रका गीत लगायतका सबै गीत लेखेको छु ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?

बाल्यकालमा विशेष गरी रेडियो नेपालबाट प्रसारण हुने गीतहरू सुनिन्थ्यो, पछि क्यासेट चक्का र एफ.एम बाट पनि गीत सुनियो ।

तपाईंलाई मनपर्ने गायक, गायिका, रचनाकार र संगीतकार ?

मलाई मनपर्ने गायक गायिकामाः नारायण गोपाल, भक्तराज आचार्य, सुरेश कुमार, सनुप पौडेल, अन्जु पन्त हुनुहुन्छ । संगीतकारमा दीपक जंगम, सुरेश अधिकारी, आलोक श्री लगायत मनपर्छ । यसैगरी गीतकारमाः कृष्णहरी बराल, दिनेश अधिकारी, प्रकट पंगेनी शिब लगायत खास लाग्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?

गीतकारको हकमा कठिन छ जस्तो लाग्छ । संगीतकार र गायक–गायीकाहरूको लागि समय सहज बन्दै गएको छ ।

तपाईंले देखेको सपना ?

मैले देखेको सपना गीत लेखन र कलाकारितामा एउटा स्थान बनाउन सकियोस् भन्ने नै हो ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?

नेपाली गीत संगीत आदि देखी नै उत्कृष्ट रहँदै आएका छन् । नेपालकै मौलिक गीत संगीतहरूले राम्रै स्थान पाएका छन् यो नेपाली सांगीतिक क्षेत्रको सकारात्मक कुरा हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?

अझै पनि नेपाली गीत संगीत भारतीय गीत संगीतबाट प्रभावित छन् । कति गीत संगीतहरू हुबहू नक्कल गरिएका छन् । यस्ता कुराहरू रोकिनु पर्छ । र, पैसाको भरमा गायक, गायिका, संगीतकार र गीतकार हुने क्रम बढ्दो छ । यसले गर्दा प्रतिभावान स्रष्टाहरू ओझेलमा परेका छन् । यसमा सुधार गर्नुपर्छ ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको छ ?

म अरू अग्रज र समकालीन स्रष्टाहरूका कृतिहरू अध्ययन गर्छु । गीत संगीत सके सम्म धेरै सुन्छु । यसरी नै आफ्ना रचनाहरूमा निखरता आउँछ भन्ने मान्यता राख्छु ।

संगीत क्षेत्रबाट पाएको कुरा ?

पाएको कुरा सन्तुष्टि मात्र हो ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?

खासै केही गुमाए जस्तो लाग्दैन ।

अन्य कुन कुन क्षेत्रमा रुचि छ ?

गीत संगीत बाहेक मेरो रूची साहित्य, नाटक, चलचित्र र समाजसेवामा छ ।

आफ्नो रुचिलाई कसरी पुरा गर्नुभएको छ ?

नयाँ नयाँं गीत रचना र रेकर्ड, चलचित्र र नाटक क्षेत्रमा काम गरीरहेको छु ।

अबका योजना के छन् ?

संगीत र कला क्षेत्रमा नै निरन्तर लाग्ने योजना छ । केही गीतहरू रेकर्ड भएका छन् । अब ती गीतहरूलाई भिडियोमा रूपान्तरण गरी बजारमा निकाल्ने सोंचमा छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

म आफू एक गीतकार र कलाकारको रूपमा मर्न पाउँ । गीत, संगीत, कला र साहित्यलाई कुनै पनि भौगोलिक सीमाले बाँध्न सक्दैन । सोही कारण विदेशी गीत, संगीत, कला र साहित्य भन्दा आफ्नै देश, आफ्नै माटोको गीत, संगीत, कला र साहित्यलाई प्राथमिकता दिई आफ्नै नेपाली स्रष्टाहरूलाई प्रोत्साहन दिनु होला भनेर सबैमाझ आग्रह गर्छु । अवसरका लागि हार्दिक धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button