अविरल वर्षाका कारण नवलपुरमा डुबान र पहिरो, राजमार्ग पूर्णरूपमा अवरुद्ध

पोखरा न्यूज । अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पुर्‍याएको छ। तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

वर्षाका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन्। बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । अहिले  स्थानीयको सहयोगमा डुबान क्षेत्रका बासिन्दाको उद्धार कार्य भइरहेको छ ।

वर्षाका कारण आएको बाढीले नवलपुर २३ स्मृति नजिकको  डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सूचना अधिकारी  सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताउनुभयो।

यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ। बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उहाँले बताउनुभयो ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ। दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ। प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button