कास्कीको छोम्रोङमा ‘सेन्चुरी ल्होसार मेला’ आयोजना हुँदै

अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले २१ औं सेन्चुरी ल्होसार मेला आयोजना गर्ने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।

उनले संस्कृतिको जगेर्ना गर्दै संरक्षण र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको १० गतेदेखि मेला राखेका छौ । यसले पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने विश्वास लिएका छौं ।’

गुरुङका अनुसार मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियर लगायतका प्रतियोगिता समावेश गरिएको छ । पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए ।

गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबल तर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा सहभागिता जनाउन भलिबल र बास्केटबलको लागि ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि ३ हजार दर्ता शुल्क तोकिएको छ । मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसहित अन्नपूर्ण व्याण्डले लाइभ कन्सर्ट गर्ने पनि आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button