आज श्रीपञ्चमी, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

पोखरा,१२ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्या र सिर्जनाक देवी सरस्वतीलाई विशेष गरी शिक्षक, विद्यार्थी, साहित्यकार, कलाकार, पत्रकार लगायतले आजको दिन पूजा–आराधना गर्छन् ।

सरस्वतीका रूपमा आज आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई पूजा–आराधना गर्ने गरिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न गरिन्छ । सरस्वतीको पूजा गरी चढाइएको ७ गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण हुन्छ भन्ने धार्मिक विश्वास छ ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजबाट वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

आज देशभरका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button