पोखरामा ग्यासको अभाव गरे र चर्को मूल्य लिए कारवाही: प्रशासन

पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा उपभोक्तासँग चर्को मूल्य असुल्ने व्यवसायीबारे सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

आजमात्र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर रु १०० ले घटेपछि पोखराका केही स्थानमा व्यवसायीले ग्यास लुकाएको, पुरानै मूल्यमा बिक्री गरेको तथा कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।

प्रशासनका अनुसार प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउने निर्णय गरेको छ। बजारमा नियमित अनुगमन भइरहेको उल्लेख गर्दै कृत्रिम अभाव फैलाउने, अनुचित मौज्दात गर्ने, कालोबजारी गर्ने तथा उपभोक्ता संरक्षण ऐनविपरीत गतिविधिमा संलग्न व्यक्ति वा व्यवसायीमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले ग्यास उद्योगसँगको समन्वयमा बजारमा नियमित आपूर्ति भइरहेको जनाएको छ। यद्यपि कसैले ग्यास लुकाउने, अनुचित रूपमा सञ्चिति गर्ने, भेदभावपूर्ण वितरण गर्ने वा चर्को मूल्यमा बिक्री गर्ने जस्ता गतिविधि गरेको जानकारी भए तत्काल प्रशासनलाई सूचना दिन आग्रह गरिएको छ।

यस्ता गतिविधिबारे जानकारी दिन जिल्ला प्रशासन कार्यालय, कास्की को प्रशासन शाखा (फोन: ०६१-४५६३३१) वा जिल्ला प्रहरी कार्यालय, कास्की (१००) मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button