गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरवास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्ग प्रवर्द्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ।
भिटोफका पदाधिकारी, सञ्चारकर्मी एवं पर्यटन व्यवसायी समेतको सहभागितामा उक्त क्षेत्रको अन्वेषण भ्रमण शुरु गरिएको हो । पदयात्रा र घरवास पर्यटन एक अर्कामा सम्बन्धित भएका कारण यी दुबैलाई एकैसाथ अघि बढाउन भिटोफले ‘घरवास–पदयात्रा’ पर्यटनको अवधारणा अघि बढाएको भिटोफका अध्यक्ष रवीन्द्रराज पौडेलले बताए ।
पदमार्ग छोटिदै गएको अवस्थामा घरवास सञ्चालन भएको एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई पदयात्रासहित खाना तथा आवासको सुविधा उपलब्ध गराउन सकिने भएका कारण यो अभियानको शुरुवात गरिएको पौडेलले जानकारी दिए।
कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय ताङतिङ गाउँ र याङ्जाकोटलाई करापुडाँडा हुँदै जोडिदा यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले बताए ।
भिटोफका सल्लाहकार डा प्रेम शर्माले भने, ‘सुन्दर गाउँका बस्तीलाई व्यवस्थित गर्दै आयआर्जन गर्न सकिने कुरालाई स्थानीयवासीका साथै राज्यले प्राथमिकतामा राख्नु आवश्यक छ।’
भिटोफका पूर्व अध्यक्ष तारानाथ पहारीले घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँलाई पदमार्गमार्फत जोड्ने अभियानले गाउँमा आर्थिक समृद्धि ल्याउने विश्वास बताए।
पोखरा हुँदै ताङतिङबाट शुरु भएको पदमार्ग अन्वेषण भ्रमण करापुडाँडा हुँदै याङ्जाकोटमा गएर समापन गरिने आयोजकले जनाएको छ।