आफ्नै साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

पोखरा न्युज – २४ माघ ।

आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति आज बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए ।

सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो ।

मृतक र आरोपित कटुवालबीच करिब एक महिना अगाडि चिनजान भई साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ ।

गएराति ११ बजेतिर मृतक सानु मगर कटुवाल सुत्ने गरेको कोठामा आएको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ ।

विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडक छेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button