तनहुँमा लागुऔषधसहित तीनजना पक्राउ

पोखरा न्यूज – २९, असोज ।

प्रहरीले अवैध लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ बस्ने २५ वर्षीय दीपेन्द्र भण्डारी र बेशीशहर नगरपालिका–३ बस्ने १९ वर्षीय सन्दीप परियार तथा कास्कीको पोखरा महानगरपालिका–२ बस्ने २३ वर्षीय राहुल श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले आँबुखैरेनी गाउँपालिका–२ चेक पोष्टस्थित पृथ्वी राजमार्गमा वीरगञ्जबाट बेशीशहरतर्फ आउँदै गरेको ना५ख ३०९५ नंको बसबाट भण्डारीलाई पक्राउ गरेको थियो ।

प्रहरीले भण्डारीको साथबाट डाइजोपाम ४३ एम्पुल, नुफिन ४३ एम्पुल, फेनेरागान ४३ एम्पुल गरी जम्मा १२९ एम्पुल बरामद गरेको छ । निजलाई जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।

त्यस्तै सोही ठाउँमा नै चेकजाँचका क्रममा भैरहवाबाट पोखरा आउँदै गरेको ग१ख ८१४० नंको बसबाट परियार र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीले निजहरुका साथबाट डाइजोपाम ४५ सिसी, नुफिन ४५ सिसी, फेनेरागान ४५ सिसी गरी १३५ थान लागुऔषध बरामद गरेको छ । निजलाई पनि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button