पर्यटकलाई भाचोक गाउँ भ्रमणको निम्तो दिदै लेकसाइडमा सांस्कृतिक कार्यक्रम

पोखरा, ११ पौष –

कास्कीको भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका बासिन्दाले पोखराको लेकसाइडमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्यटकलाई आफ्नो गाउँ भ्रमणको निम्तो दिएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara

तमु जातिको महान पर्व ल्होसारको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँ घुम्न निम्तो मात्र दिएनन एक आपसमा शुभकामना आदानप्रदान पनि गरेका थिए । गुरुङ पोशाकमा सजिएका युवती र महिलाहरुले गुरुङ गीत, गुरुङ संस्कृति र गुरुङ पहिचानको प्रस्तुती कार्यक्रममा दिएका थिए । नाचगान र खानपानसँगै गाउँ विकास र आफ्नो गाउँले संस्कृतिको संरक्षणमा जहाँ रहे पनि कटिबद्ध भएर लाग्ने प्रण उनीहरुले गरे ।

भाचोक गाउँका चेलीहरु पवित्रा गुरुङ, एनी गुरुङ, प्रमिला गुरुङ र टिका गुरुङले स्थानीय ओजन लाउन्ज बारमा यो व्यवस्था मिलाएका थिए । राजकुमार गुरुङ र रविन घलेले उनीहरुलाई सघाएका थिए । जिल्लाको उत्तर पूर्वी भाचोक गाउँ एक पर्यटकीय गाउँ समेत रहेको र उक्त गाउँका बासिन्दा बसाईँ सरी पोखरामा समेत बसोबास गर्ने कारणले सबै मिली पर्यटक डाक्ने र शुभकामना बाँड्ने काम गरिएको उनीहरुले बताए ।

पोखराबाट ३३ किलोमिटर टाढाको भाचोक गाउँमा गाउँलेले आफ्नै खल्तीको पैसा हालेर हालै कच्ची सडक समेत ५० लाख रुपैयाँको लागतमा पुर्याएका छन् । यो बाटोले यो पटक गाउँमा ल्होसार मनाउन पुग्ने स्थानीय र अन्य पर्यटकलाई समेत सहज हुने विश्वास गाउँलेले गरेका छन् । पोखरामा आयोजित सांस्कृतिक कार्यक्रममा यही पुस १४ र १५ गते भाचोक गाउँमा गत वर्ष झै ल्होसार मेला आयोजना गर्ने निर्णय समेत लम्तरी युथ क्लव भाचोकले गरेको छ । उक्त मेलामा सहभागी भई गाउँ पर्यटनको विकासमा सहभागी भई भुकम्प पछिको पर्यटनलाई पुनर्जागरण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न भाचोककी पवित्रा गुरुङले आग्रह गरिन् ।

भाचोकमा ७५ भन्दा बढी घरमा मानिसहरु बसोबास गर्छन् । यो गाउँ गुरुङ जातिको बाहुल्य रहेको गाउँ हो । गाउँमा विद्युत र पानीको व्यवस्था पनि गरिएको छ । पछिल्लो क्रममा गाउँमा होमस्टेको समेत व्यवस्था गरिएको छ । भाचोकमा ११ घरमा होमस्टेको सुविधा समेत उपलब्ध रहेको एनी गुरुङले जानकारी दिइन् । समुन्द्र सतहबाट दुई हजार दुई सय मिटरको उचाईमा रहेको यो गाउँ गुरुङ संस्कृति र पुराना घरका हिसावले आकर्षक रहेको उनले सुनाइन् । भाचोकबाट पदयात्रा गरी पवित्र तिर्थस्थल दूधपोखरी समेत पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button