पोखरा, ११ पौष –
कास्कीको भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका बासिन्दाले पोखराको लेकसाइडमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्यटकलाई आफ्नो गाउँ भ्रमणको निम्तो दिएका छन् ।
तमु जातिको महान पर्व ल्होसारको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँ घुम्न निम्तो मात्र दिएनन एक आपसमा शुभकामना आदानप्रदान पनि गरेका थिए । गुरुङ पोशाकमा सजिएका युवती र महिलाहरुले गुरुङ गीत, गुरुङ संस्कृति र गुरुङ पहिचानको प्रस्तुती कार्यक्रममा दिएका थिए । नाचगान र खानपानसँगै गाउँ विकास र आफ्नो गाउँले संस्कृतिको संरक्षणमा जहाँ रहे पनि कटिबद्ध भएर लाग्ने प्रण उनीहरुले गरे ।
भाचोक गाउँका चेलीहरु पवित्रा गुरुङ, एनी गुरुङ, प्रमिला गुरुङ र टिका गुरुङले स्थानीय ओजन लाउन्ज बारमा यो व्यवस्था मिलाएका थिए । राजकुमार गुरुङ र रविन घलेले उनीहरुलाई सघाएका थिए । जिल्लाको उत्तर पूर्वी भाचोक गाउँ एक पर्यटकीय गाउँ समेत रहेको र उक्त गाउँका बासिन्दा बसाईँ सरी पोखरामा समेत बसोबास गर्ने कारणले सबै मिली पर्यटक डाक्ने र शुभकामना बाँड्ने काम गरिएको उनीहरुले बताए ।
पोखराबाट ३३ किलोमिटर टाढाको भाचोक गाउँमा गाउँलेले आफ्नै खल्तीको पैसा हालेर हालै कच्ची सडक समेत ५० लाख रुपैयाँको लागतमा पुर्याएका छन् । यो बाटोले यो पटक गाउँमा ल्होसार मनाउन पुग्ने स्थानीय र अन्य पर्यटकलाई समेत सहज हुने विश्वास गाउँलेले गरेका छन् । पोखरामा आयोजित सांस्कृतिक कार्यक्रममा यही पुस १४ र १५ गते भाचोक गाउँमा गत वर्ष झै ल्होसार मेला आयोजना गर्ने निर्णय समेत लम्तरी युथ क्लव भाचोकले गरेको छ । उक्त मेलामा सहभागी भई गाउँ पर्यटनको विकासमा सहभागी भई भुकम्प पछिको पर्यटनलाई पुनर्जागरण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न भाचोककी पवित्रा गुरुङले आग्रह गरिन् ।
भाचोकमा ७५ भन्दा बढी घरमा मानिसहरु बसोबास गर्छन् । यो गाउँ गुरुङ जातिको बाहुल्य रहेको गाउँ हो । गाउँमा विद्युत र पानीको व्यवस्था पनि गरिएको छ । पछिल्लो क्रममा गाउँमा होमस्टेको समेत व्यवस्था गरिएको छ । भाचोकमा ११ घरमा होमस्टेको सुविधा समेत उपलब्ध रहेको एनी गुरुङले जानकारी दिइन् । समुन्द्र सतहबाट दुई हजार दुई सय मिटरको उचाईमा रहेको यो गाउँ गुरुङ संस्कृति र पुराना घरका हिसावले आकर्षक रहेको उनले सुनाइन् । भाचोकबाट पदयात्रा गरी पवित्र तिर्थस्थल दूधपोखरी समेत पुग्न सकिन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution