गर्भपतन गराउनेको सङ्ख्या डरलाग्दो

 

पाँचथर, ३१ जेठ –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पाँचथर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आर्थिक वर्ष २०७१-७२ मा एक हजार तीन सय ९४ जना महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थामा एक हजार ४५ र जिल्ला अस्पताल पाँचथरमा तीन सय ४९ जनाले गर्भपतन गराएका हुन् । आइपस नेपालका जिल्ला संयोजक केदार भण्डारीका अनुसार आब २०७२-७३ साउनदेखि वैशाखसम्म जिल्ला अस्पतालबाहेक अन्यत्र आठ सय ८३ जनाले गर्भपतन गरेको पाइएको छ ।

पछिल्लो समय गर्भपतन गराउने क्रम बढेपछि त्यसको न्यूनीकरणको निम्ति भन्दै जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति पाँचथरले जिल्लामा रहेका औषधि पसललाई औषधि व्यवस्था विभागमा सूचीकृत गराएर मात्रै गर्भपतनसम्बन्धी औषधि बिक्री वितरण गर्न दिने र गैरकानुनी रुपमा गर्भपतन गराउने विज्ञापन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बाह्र हप्तासम्मको गर्भ, हाडनाता र जबर्जस्ती करणी भए १८ हप्तासम्म, महिलाको ज्यान खतरामा पर्ने वा शारीरिक वा मानसिक रुपमा गम्भीर असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्यता प्राप्त चिकित्सकको सुझावअनुसार गर्भपतन गराउने व्यवस्था रहेको संयोजक भण्डारीले बताउनुभयो ।

गर्भनिरोधक सामग्रीको प्रयोग नगरेका कारण पनि गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने उहाँको भनाइ छ । अहिले जिल्लामा ३२ प्रतिशत महिलाले मात्रै गर्भनिरोधक सामग्री र औषधिको प्रयोग गर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button