पोउवा संघमा जापानी राजदूत

पोखरा –

जापानी सहयोग निरन्तर – नेपालका लागि जापानका राजदूत ओगावा

नेपालको लागि जापानका राजदूत मासाशी ओगावाले जापानी सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघले उहाँको सम्मानमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत ओगावाले नेपालमा बढीभन्दा बढी जापानी पर्यटक भित्र्याउनको लागि पहल घोषणा समेत गर्नुभयो ।

pokhara-chamber-of-commerce

केही वर्षअघिभन्दा अहिले नेपाल आउने जापानी पर्यटक घटेका हुन् भन्ने प्रश्न गर्दै उहाँले ठट्यौलो पारामा भन्नुभयो–‘ पहिला ओहाइगोजाइमास (जापानी भाषाको नमस्ते ) भन्नेहरु बढी हुन्थे भने अहिले निहाओ ( चिनिया भाषाको नमस्ते ) भन्नेहरु बढेको देखियो ।’
नेपाल–जापान दौत्य सम्बन्ध स्थापित भएको ६० औँ वर्षमा प्रवेश गरेको स्मरण गर्दै उहाँले नेपालको हवाई सुरक्षा तथा राजधानीको नागढुंगा क्षेत्रमा सुरुङ मार्ग बनाउन जापानले सहयोग गर्न लागेको जानकारी पनि दिनुभयो । पोखराका विभिन्न विकास निर्माणमा परियोजनामा जापानले सहयोग गरेको उल्लेख गर्दै उहाँले पोखराको खानेपानी बितरण र शुद्धिकरणको लागि जापान सरकारको तर्फबाट दिइने सहयोगले यहाँका जनताले शुद्ध खानेपानी पाउने बताउनुभयो । ३ वर्षअघि नेपालमा राजदूतको रुपमा आउनु भएका ओगावाले पोखराको सौन्दर्यको पनि प्रशंसा गर्नुभयो । पोखरा उपमहामनगरपालिका र जापानको कोमागाने नगरबीचको भगिनी सम्बन्धको चर्चा गर्दै उहाँले यो सम्बन्ध जनस्तरमा पु¥याउने पहल गरिने बताउनुृभयो । नेपालका करिब १० हजार विद्यार्थी जापानमा अध्ययनरत रहनु भनेको दुई देशबीचको साँस्कृतिक आदानप्रदानको लागि महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा जापानी राजदूतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपालको विकासमा जापान सरकारबाट प्राप्त सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । गतवर्ष गएको भूकम्पले नेपालको पर्यटन र व्यवसायमा ठूलो क्षति पुरयाएको स्मरण गर्दै उहाँले बढीभन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याउने वातावरण बनाउन राजदूतसँग आग्रह पनि गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघले पोखराको समग्र विकासमा खेलेको भूमिकाबारे जानकारी दिँदै संघ जापान सरकारसँग सहकार्य गर्न तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

संघका मानार्थ सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक पालिखेले जापान सरकारको सहयोगमा निर्माण हुन लागेको पोखराको खानेपानी शुद्धिकरण तथा बिस्तार परियोजनाको अन्तर्गत मर्दीमा रहेको पानीको मुहान ४ किलोमिटर माथि सार्न सके मुहानमा हुने मानवीय अतिक्रमण कम गर्न सकिने धारणा राख्नुभयो । सन् २००२ ताका जापान सरकारको सहयोगमा फेवाताल संरक्षणको लागि परियोजना संचालन भएको स्मरण गर्दै उहाँले फेवाताल संरक्षणमा जापानी सहयोगको अपेक्षा पनि गर्नुभयो । नेपाल र जापानको सम्बन्ध जनस्तरसम्म फैलिएको र केही जापानी नागरिकहरुले नेपालको पर्यटन उद्योगमा लगानी समते गरेको प्रसंग झिक्दै उहाँले यो सम्बन्ध अझ मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button