अन्तरराष्ट्रिय युवा दिवस शनिबार

पोखरा न्युज –

देशभरि शनिबार अन्तरराष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।

दिवसकै अवसरमा राष्ट्रिय युवा परिषद्को अगुवाइमा शनिबार राष्ट्रिय सभागृहमा ‘शान्ति र समृद्धिमा युवा’ भन्ने नाराका साथ विशेष कार्यक्रम गरिने छ । युवाका विषयमा आवाज उठाउनका लागि दिवस मनाउन थालिएको आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

उहाँले दिवसले राष्ट्रिय युुवा नीति २०७२ र युथ भिजन २०२५ मा समेटिएका युवाका विषय कार्यान्वयन गराउन सबैलाई ध्यानाकर्षणसमेत गराइने बताउनुभयो । दिवसका अवसरमा १० युवा उद्यमीसहित गायन, वाचन र दृश्य विधाका उत्कृष्ट युवालाई सम्मान गरिने परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र संघको ४५ औँ साधारणसभाले सन् १९९९ देखि अन्तरराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा भने सन् २००४ देखि दिवस मनाउन थालिएको हो । परिषद्सँगै ४५ गैरसरकारी संघसंस्थाले पनि संयुक्त रुपमा दिवस मनाउन थालेका हुन् ।

नेपालमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छ । वर्षेनी पाँच लाख ३८ हजार युवा रोजगारीका लागि विभिन्न मुलुक जाने गरेको सरकारी तथ्याँक छ । युवा दिवस मनाउन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । दिवसकै अवसरमा शनिबार बिहान ८ बजे पदयात्रासमेत निकालिने छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button