पोखरा-३३ बाघमाराको सयौं वर्षको इतिहास बोकेको कालिका मन्दिर

वासुदेव पौडेल,

पोखरा न्युज ।

पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित बाघमारा पछिल्लो समय बजारीकरणको विकास र विस्तार भएको क्षेत्र हो ।

पोखरा र लेखनाथका विभिन्न स्थाबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको यो क्षेत्र कास्की जिल्लामा नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्य समेत बन्दै गएको छ ।

यहाँ उत्पादित कृषिजन्य दुध, तरकारी आदिको पोखराको बजारमा निकै माग हुने गरेको छ । बजारीकरणको विकास विस्तार भए पनि यसको वास्तविक पहिचानका रुपमा रहेको कालिका मन्दिर भने प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

कालिका मन्दिर बाघमारामा बस्ती बस्नु भन्दा धेरै पहिलेदेखि अस्तित्वयुक्त ऐतिहासिक स्थल रहेको स्थानीयवासी एवम् कालिका मन्दिर संरक्षण समितिका कोषाध्यक्ष ढाकाराम आचार्यले बताउनुभयो ।“कालिका मन्दिरको इतिहास खोतल्दा यो सय वर्ष भन्दा पनि पुरानो भएको यथेष्ट प्रमाण छन्,” उहाँले भन्नुभयो, “स्थानीयवासीको पहलमा हाल लगभग एक रोपनी भन्दा बढी क्षेत्रफलमा प्राचिनकालदेखि पूजा गरिदै आइएको शिला सहितको मन्दिर र लगभग २० वर्ष अघि निर्माण गरिएको नयाँ सहित दुईवटा मन्दिर सहितको परिसरलाई पर्खाल लगाएर संरक्षण गरिएको छ ।”

मनोकामना पूरा हुने विश्वासका साथ बाघमारा र आसपासका दर्शनार्थी कालिका मन्दिरमा पूजाआजाका लागि आउने गरेका छन् ।अर्का स्थानीयवासी एवम् महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुली प्राचिन ऐतिहासिक मन्दिर भएर पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताउनुहुन्छ ।“बाघमारामा पछिल्लो समय तीव्र रुपमा बजारीकरण भैरहे पनि यहाँ वस्ती बस्नु पूर्वदेखि नै कालिका मन्दिरको अस्तित्व रही आएको पाइन्छ,” पराजुलीले भन्नुभयो, “यस्ता प्राचीन एवम् सांस्कृतिक धरोहरको इतिहास खोतल्दै थप उजागर गर्नु बर्तमानमा युवाहरूको दायित्व पनि हो ।”

कालिका मन्दिर नजिकै रहेको सरस्वती टिका माध्यमिक विद्यालय र सरस्वती टिका बहुमुखी क्याम्पसका कारण यो क्षेत्र शैक्षिक केन्द्रका रुपमा पनि विकास हुँदै गएको छ ।गुणस्तरीय शिक्षाका लागि कृयाशिल बन्दै गएका यी शैक्षिक संस्थाले विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न सफल बनेका छन् ।

समूदायको उन्नति प्रगतिका साथै सुख शान्तिको उद्देश्यका साथ स्थानीयवासीले प्रत्येक ५-५ वर्षमा चैते दशैंको समय पारी कालिका मन्दिरमा पञ्चबली दिने गरेका छन् । दसैंको समयमा विशेष पूजाआजा हुने यस मन्दिरमा प्रत्येक चैते दसैंमा सामूहिक रुपमा बोको र पाठीको बलि दिने प्रचलन पनि छ ।

बाघमाराको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिका मन्दिरको प्राचीनता सम्बन्धमा थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको अर्का स्थानीयवासी विष्णुप्रसाद आचार्यले बताउनुभयो ।उहाँका अनुसार समूदायको रक्षा र सुख शान्तिका लागि परापूर्व कालमा नै मन्दिर स्थापना गरिएको पाइए पनि यहाँको बस्ती विकासको क्रमले भने २०२५ साल पछि मात्र तीव्रता पाएको हो ।

सुरु सुरुमा औलको प्रकोप हुने लगायतका कारणबाट मानिसहरू पाखामा बस्ने गरेकोमा औलो नियन्त्रणमा सरकारी प्रयास सुरु भए पनि बेसींतीर झर्ने प्रचलन बढेको अर्का स्थानीयवासी एवम् आदर्श टोल विकास संस्थाका उपाध्यक्ष चिरञ्जीवि दाहालले बताउनुभयो ।प्रत्येक सांस्कृतिक धरोहरको इतिहासलाई जोगाउनु पछिल्लो युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने स्थानीय युवा दीपेन्द्र भुषाल बताउनुहुन्छ ।“बाघमाराको इतिहाससँग प्रत्यक्ष जोडिएको कालिका मन्दिरसँग सम्बन्धित प्राचीन पक्षहरूको खोजी गर्दै यसको प्रचारप्रसार गर्नु बर्तमान युवा पुस्ताको महत्वपूर्ण दायित्व हो,” उहाँले भन्नुभयो, “इतिहास आँर्फैमा महत्वपूर्ण हुन्छ, यसलाई मेटिन दिनु हुँदैन ।”

रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button