कास्की र पर्वत जोड्ने निर्माणाधीन मोटरेबल पुल अलपत्र

पोखरा न्युज – ०३ चैत्र ।

यहाँको एक खोलामा निर्माणाधीन पक्कीपुलको निर्माण कार्य अलपत्र परेको छ ।

पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधीन पुल अलपत्र परेको हो । तीन वर्षअघि निर्माण शुरु भएको पुल केही महिनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको हो ।

बीचमै काम रोकेर ठेकेदार सम्पर्कमा नआएको मोदी गाउँपालिका–१ का वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए । “तीन वर्षअघि नै पुलको ठेक्का भएर निर्माण शुरु भएको थियो तर बीचमा काम छाडेर ठेकदार सम्पर्कमा आउनु भएको छैन” गुरुङले भने । उनले सडक विभागलगायतका निकायमा पुलको निर्माण कार्य अलपत्र परेको विषयमा ध्यानाकर्षण गराउँदासमेत निकास निस्किएको छैन भने ।

“न सडक विभागले अर्को विकल्प निकालेको छ, न ठेकेदारले काम शुरु गरेको छ” उनले भने– “समयमा पुल नबन्दा पर्वतको भुकताङ्लेका बासिन्दा वर्षायाममा यातायातको सुविधाबाट वञ्चित हुने अवस्था आएको छ ।” पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेवासीले पक्की पुलको माग गर्दै आएका छन् ।

रु छ करोड १३ लाखको लागतमा बन्न लागेको सो पुल चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी छ । तत्काल काम शुरु गरे पनि तोकिएको मितिमा पुल निर्माण सम्पन्न हुने अवस्था नभएको गुरुङले बताए । “एकातर्फको पिल्लरमाथि उठाइएको छ, अर्कोतर्फ शुरु नै भएको छैन” उनले भने।

स्थानीय भुलबहादुर पौडेलले चालु आवमा पनि भुकताङ्लेका बासिन्दाले पक्की पुलको प्रयोग गर्न नपाउने अवस्था आएको बताए । “काम नरोकिएको भए अहिलेसम्म झण्डै पुल निर्माण अन्तिम अवस्थामा पुग्थ्यो” उनले भने–“आउने वर्षामा गाउँसम्मै यातायातको सुविधा लिने भुकताङ्लेवासीको आशा असफल हुने भयो ।”

सडक डिभिजन कार्यालय बागलुङमार्फत यो पुलको निर्माण जिम्मा पोखराका राजेन्द्र भण्डारीले लिएका हुन् । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर साहले ठेकेदार सम्पर्कमा रहे पनि काम अगाडि बढ्न नसकेको बताए । “२९ महिनाभित्र निर्माण सक्नुपर्ने पुल हो, अब केही महिनामात्र बाँकी छ, हामीले ठेकेदारलाई ताकेता गरिरहेका छौँ” साहले भने । उनले ठेकेदारलाई काम छिटो सुचारु गर्न पटक–पटक ताकेता गरेको जानकारी दिए। “ठेकेदारले आफ्नै प्राविधिक समस्याले काम गर्न नपाएको जवाफ दिनुभएको छ” उनले भने– “रोकिएको काम सुचारु हुनेमा हामी आशावादी छाँै ।”

पुल निर्माणको जिम्मा लिएका भण्डारीले काम गर्दागर्दै समस्या आएपछि रोकिएको जानकारी दिए । “पुल निर्माणस्थलमै विद्युत् ट्रान्सफर्मर परेपछि काम रोकिएको हो, विद्युत् प्राधिकरणले हटाएपछि काम शुरु गर्छु” उनले भने । आफूले गलत नियतले काम नरोकेको दाबी गरे ।

पर्वतको मोदी गाउँपालिकाअन्तर्गत भुक, ताङ्ले, लप्सीबोटलगायतका बासिन्दालाई सदरमुकाम कुश्मा, प्रदेश राजधानी पोखरा तथा नजिकको बजार बिरेठाँटी र नयाँपुल पुग्नका लागि भुरुङ्दीखोलामाथि पुल अत्यावश्यक छ । यो पुल नहुँदा त्यसक्षेत्रका बासिन्दा वर्षायाममा यातायातको सुविधाबाट वञ्चित हने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button