मणिपाल अस्पतालको सबै सेवा संचालन हुने, ४ कर्मचारी अस्पतालमै भर्ना

डिएनबी, पोखरा न्युज – २० चैत्र ।

पोखराको मणिपाल शिक्षण अस्पताल आज (मंगलबार) देखि पुनः संचालनमा आउने भएको छ। आज वार्ता बस्ने सहमति भएसंगै आज बिहानै देखि अस्पतालका सम्पुर्ण सेवा संचालन हुने भएको अस्पताल श्रोतले जनाएको छ।

प्रहरीबाट गिरफ्तारिमा परेका २० जना कर्मचारीलाई सोमबार बेलु्का छाडेर, आज दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालय कास्कीमा वार्ता बस्ने मौखिक सहमति भएसंगै सोमबार ठप्प भएको सेवा आज देखि पुनः सुचारु हुने भएको अस्पतालका निर्देशक डा. भिजे सिंगीले बताए । उनले भने “ अस्पताल भित्रका हाम्रा कर्मचारीहरुको बिषयमा हामी वार्ताबाटै सहमति खोज्ने पक्षमा छौं, वार्ता हुने भएपछि हामीले मंगलबार बिहानै देखि सवै सेवा पुर्ण रुपमा संचालन गछौं, एक दिन प्राविधिक कारणले गर्दा सेवा प्रभावित भएकोमा हामी क्षमा याचना गर्दछौं ।” आफुहरुले स्थानिय रुपमा सेवा दिन चाहेको बताएका उनले सोमबार सेवा दिने वातावरण नभएकोले गर्दा सेवा दिन नसकेको जनाए ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा कर्मचारी बिवादले सोमबार दिनभरी आकास्मित (इमर्जेन्सि) बाहेक सवै सेवा ठप्प भयो । कर्मचारीहरुले भने मंगलबार बिहान ८ः३० बजे देखि अस्पतालका प्रमुख नाग पालको कार्याकक्ष अगाडी धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको एक कर्मचारीले जनाए । आफुहरुको माग पुरा नभएसम्म धर्ना कार्यक्रम शान्तिपुर्ण रुपमा जारी राख्ने कर्मचारीले बताएका छन। धर्नामा बसेका कर्मचारी नवराज भण्डारीलाई पहिला प्रहरी प्रशासनले गिरफ्तार गरेसंगै अस्पतालमा तनाव सुरु भएको कर्मचारीले आरोप लगाएका छन। तलव बृद्धिको माग गर्दै विगत ९ महिना देखि आन्दोलित भएका कर्मचारी विगत दश दिन देखि धर्नामा बसेका थिए ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार विहान देखि आकस्मिक (इमर्जेन्सि) बाहेक सवै सेवा प्रभावित भयो। कर्मचारी विवादले झडप भए पछि हाल अस्पतालको इमर्जेन्सि बाहेकका सवै सेवा ठप्प गराएको अस्पताल श्रोतले जनाएको छ। आन्दोलनको क्रममा प्रहरीको कुटाइबाट ४ कर्मचारी अस्पतालमै भर्ना भएका छन। पार्वती गुरुङ, राजु भुजेल, पार्वती प्रधान र कर्ण बहादुर केसीको टाउको र शरीरमा चोट लागेका कारण उनीहरुको अस्पतालमै भर्ना गरिएको कर्मचारीले बताए । झडपको क्रममा कर्मचारी र प्रहरी दुबैै तर्फ ७-७ जना घाइते भएको बताइएको छ ।

झडपको क्रममा कर्मचारीले ईट्टा, व्लक, ढुंगा, कुर्सीले प्रहरी माथि प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खडग बहादुर खत्रीले बताए । उनका अनुसार धर्नामा बसेका कर्मचारीले प्रहरीलाई एकाएक ढुंगा मुडा गरे पछि प्रहरीले सामान्य लाठ्ठी चाज गरी केहिलाई नियन्त्रणमा लिएको बताए ।

कर्मचारीले भने डिनको कार्यालय अगाडी धर्नामा बसेका कर्मचारीलाई एक्कासी पक्राउ गरी नियन्त्रणमा लिन थालेसंगै झडप भएको बताएका छन। डिएसपी खत्रीका अनुसार घाइते हुने प्रहरी जवानहरुमा विपिन थापा मगर, अन्जना घर्ती, गोविन्द राजकोटी, गम बहादुर थापा, रुपलाल थापा, एमुना राजकोटी, तुलसा पोखरेल रहेका छन। झडपको क्रममा थप ३ जना सामान्य घाईते भएका हुन । उनिहरुलाई टाउको, हात, खुट्टमा चोट लागेको छ। प्रहरीले २० जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। अस्पातलका डिनको कार्यालयको झ्यालको सिसा फोरिएको छ । कर्मचारी र प्रहरी बिच सामान्य भनाभनकै क्रममा झडप भए पछि मणिपाल शिक्षण अस्पातलमा केहि वेर तनाव भएको थियो । अस्पताल प्रशासनले अस्पतालको क्षमता अनुसार चिकित्सकको तलब बढाउन नसक्ने भएकोले आफुहरुले तलव बृद्धि गर्न नसेको अस्पताल श्रोतले जनाएको छ। अस्पतालमा दैनिक जसो एक हजार जसो सेवाग्राहीहरु आउने गर्छन ।

यस बिषयमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहन बहादुर वाँस्तोलाले आफुहरुले कर्मचारीको तलव बृद्धिको बिषयमा प्रशासनसंग करिब १२ पटक बसेको वार्तामा अस्पताल प्रशासनले कर्मचारी प्रति वेवास्था गर्दै आएको आरोप लगाए । उनले भने “ अस्पताल प्रसासनले कर्मचारीलाई दबाबमा पारेको छ, उनीहरुको जाहेज मागको सम्वन्धमा वार्ता र छलफलको विकल्प हुदा हुदै कसरी प्रहरी प्रशासन लगाईयो म आफै अचम्मित भएको छु । ” बिबाद सामान्य भएपछि पनि प्रहरीले महिला कर्मचारीहरुलाई खोजि खोजि नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button