स्याङ्जाको चापाकोटमा कुमाल सङ्ग्रहालय निर्माण शुरु

पोखरा न्यूज– १७, मंसिर ।

स्याङ्जाको एकता कुमाल समाज चापाकोट– ८ दामाचौरले कुमाल सङ्ग्रहालय निर्माण थालेको छ । लोपोन्मुख अवस्थामा रहेका कुमाल समुदायका कला, संस्कृति, वेशभूषा, माटाका भाँडा, पोशाक उक्त सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिने उक्त समाजकी अध्यक्ष मथुरा कुमालले बताइन् ।

“माटोका विभिन्न भाँडाकुँडा बनाउने पेशा अँगालेको यो समुदाय पछिल्लो समय परम्पारागत पेशाबाट विस्थापित हुँदै गएको छ”, अध्यक्ष कुमालले भनिन्, “परम्परादेखि चलिआएको पेशाप्रति आजभोलिका युवा आकर्षित नहुँदा हाम्रा कला, संस्कृतिको लोप हुने अवस्था देखिएकाले सङ्ग्रहालय निर्माण गर्न लागेका हौँ ।”

घुमाउरो आकारमा निर्माण गरिने उक्त सङ्ग्रहालय तीन वटा तलाको हुनेछ भने त्यसमा तीन वटा सभाकक्ष रहनेछ । सङ्ग्रहालय निर्माणका लागि जनजाति प्रतिष्ठान नेपालबाट दुई लाख, चापाकोट नगरपालिकाबाट हालसम्म विभिन्न चरणमा गरी छ लाख पचास हजार र स्थानीय समुदायबाट दुई लाख सङ्कलन भएको उक्त समाजका संस्थापक अध्यक्ष राजु कुमालले बताए ।

“लोपोन्मुख अवस्थामा रहेको कुमाल जातिको पुरानो परम्परा तथा सीपको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाले सङ्ग्रहालय निर्माणका लागि आर्थिक सहयोग गरेको हो”, नगरप्रमुख शिवकुमार गिरीले भने, “सङ्ग्रहालयलाई सम्पत्तिका रुपमा विकास गरी कुमाल समुदायले देखाएको उत्साहप्रति नगरपालिकाले आर्थिक सहयोग गरी पूर्णता दिनेछ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button