विकासका योजना बढाउँदै तनहुँको व्यास नगरपालिका

पोखरा न्यूज- ८, फागुन ।

तनहुँको व्यास नगरपालिकाले विकासका योजनालाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको छ । चालू आर्थिक वर्ष २०७५-०७६ मा नगरपालिकाले नगरक्षेत्रभित्र व्यास पराशर पार्क, मादी नदीमा कृत्रिम ताल, एकीकृत जग्गा विकास कार्यक्रम, सडक कालोपत्रेलगायतका योजना अगाडि बढाएको हो ।

स्रोत र साधनको सीमितता, राजश्व असुली एवं जनशक्ति व्यवस्थापनमा विद्यमान कानूनी असपष्टता तथा अन्य व्यवस्थापकीय समस्याका कारण विकास निर्माण प्रक्रिया सोचेअनुरुप अगाडि बढाउन नसकिए पनि केही दीर्घकालीन महत्वका योजना अगाडि सारिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाका अनुसार चालू आवका लागि विकास बजेटतर्फ विनियोजन गरिएको रु ४७ करोड ४९ लाख १९ हजार २०० मध्ये गत माघ २५ गतेसम्म रु १० करोड ७९ लाख ५६ हजार १०० खर्च भएको छ । नगर प्रमुख न्यौपानेले भने, “प्रथम चरणमा सामान्यतया वडास्तरीय आयोजना मात्र सञ्चालन गरिएको र अन्य मझौला तथा ठूला योजना सञ्चालनको लागि उपभोक्ता समितिसँग सम्झौता गर्ने तयारी भएको छ ।”

उनका अनुसार पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने पार्क निर्माण कार्यको लागि व्यास–३ स्थित अनशन चौतारी नजिक रहेको खुला चौरमा व्यास परासर पार्क निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।

पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्नेछ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहलगानीमा मादी नदीमा बहुउद्देश्यीय कृत्रिम ताल निर्माण गर्ने कार्यको लागि सम्भाव्यता अध्ययन गर्न कार्य अगाडि बढाएको छ ।

सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिनेछ । व्यास नगरपालिका र स्थानीयवासीको लागत सहभागितामा निर्माण हुने तालको अनुमानित लागत रु ७८ लाख अनुमान गरिएको छ । ताल निर्माणका लागि व्यास नगरपालिकाले चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ भने स्थानीयको जग्गालाई शेयरमा रुपान्तरण गर्ने योजना छ ।

नगरपालिकाले विश्व बैंकसँगको सघन शहरी विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यक्रम सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको छ भने विद्युतीकरण, सडकबत्ती व्यवस्थापन, स्वरोजगार उन्मुख कार्यक्रम, खानेपानी सिँचाइ, कृषिजन्य कार्यक्रम क्रमिकरुपमा अघि बढाइएको जनाएको छ ।

नगरभित्रका सिन्धु मार्ग, केशवटार मार्ग, माहेन्द्री मार्ग, कलेस्ती गजौडे बिर्ता मार्ग, कालिका मार्ग, क्यामिन मार्गलगायतका मार्गलाई मूल मार्गको रुप स्तरीकरण गर्न प्राथमिकता राखिएको छ भने घरबास कार्यक्रम सञ्चालन गर्न उत्साहित गाउँलाई अनुदान दिने तयारी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button