नौबिसे-नागढुङ्गा सडक: अष्टमीका दिन मर्मत गरिने, असुरक्षित पैदलयात्री

पोखरा न्यूज- १८, असोज । उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको ठाउँमा भरेर कालोपत्रे गरिँदै छ । यसअघि अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए । वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैँका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो ।

सवारी चाप बढी भएर यात्रुलाई मर्का पर्ने अवस्था आएमा भने काम रोकिने छ । अधिकारीले यात्रुलाई प्रभावित नपार्ने गरी दबेको सडक मर्मत गर्न लागिएको बताए । निकै दिनको प्रयास पछि मजदूरको व्यवस्थापन गरिएको उनले वताए । सो सडकखण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडकखण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ ।

अधिकारीले सो सडकखण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताए । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । अन्य समयमा १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउनुहुन्छ । सो क्षेत्रमा छदेखि सात मिटरमात्र सडक चौडा छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारीको भनाइ छ । काम गर्न नसक्ने भए पछि ठेकेदार कम्पनीले मुग्लिनदेखि पिप्लामोडसम्मनै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनले बताए ।

असुरक्षित बन्दै पैदलयात्री

गएका दुई महीनामा जिल्लाका विभिन्न सडकमा पैदल हिँडिरहेका ११ जनाको सवारीसाधनको ठक्करबाट मृत्यु भएको छ । सवारीकै ठक्करले नौ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत आर्थिक वर्षमा पैदल हिँड्दै गरेका ४१ को सवारीको ठक्करबाट मृत्यु भएको थियो । त्यस वर्ष ७९ घाइते भएका थिए ।

यात्रीको आफ्नै कारण, चालकको लापरवाही र साँघुरा सडकका कारण पैदलयात्री असुरक्षित हुने गरेका गिरिको ठम्याइ छ । मदिरा सेवन गरेरबीच सडकमा हिँड्ने र जेब्राक्रसबाट बाटो नकाट्ने बढी दुर्घटनामा पर्ने गरेका छन् । यसैगरी मदिरा सेवन गरेर सवारी चलाउने चालक र मदिरा सेवन नगरेकै भए पनि जथाभावी सवारी हाक्नेका कारणले पैदलयात्री असुरक्षित बनेको गिरी बताउनुहुन्छ ।

साँघुरा सडकमा मानिस नदेखिएका कारण सवारीको ठक्करबाट मृत्यु भएको पनि पाइएको छ । गिरीका अनुसार पैदलयात्रा गर्दा मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धा हुने गरेका छन् । चालक र पैदलयात्री दुवै सचेत नभएसम्म यस्ता घटना रोक्न नसकिने उहाँको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button