पर्यटक भित्र्याउन पदमार्गमा लगानी गर्दै बागलुङका स्थानीय तह

तारानाथ आचार्य, पोखरा न्यूज -३०, कार्तिक । पर्यटक भित्र्याउने योजना बनाएका बागलुङका सबै स्थानीय तहले पदमार्गलाई प्राथमिकता दिएका छन् । उनीहरुले एक वर्षे, बहुवर्षे र दीर्घकालीन योजनासमेत बनाएर गन्तव्य बनाइरहेका हुन् ।

पदमार्गमार्फत पर्यटकीय क्षेत्रमा जाने र पर्यटकीय क्षेत्रमा पनि लगानी गरेर आर्कषण थप्ने काममा स्थानीयतह लागेका हुन् । सदरमुकामको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिकासहित गाउँपालिका तहमा पनि पदमार्गमा लगानी बढाइएको हो । गत आर्थिक वर्षदेखि काम थालेको बागलुङ–५ को मालिकामा पदमार्गमा लगानी गरिएको छ । सो वडाको मालिकादेखि संसारकोटतर्फ पदमार्ग निर्माण थालिएको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए  ।

गत वर्ष रु पाँच लाख खर्चेर मालिकातर्फको ५ सय  मिटर सिँढी ढलान गरिएको छ । चालू वर्षदेखि निरन्तर बजेट राखेर यो पदमार्गलाई गन्तव्यसम्म लैजाने उनले बताए । स्थानीय ढुङ्गा उपलब्ध भएसम्म ढुङ्गाकै सिँढीमार्फत पदमार्ग निर्माण गर्न लागिएको हो भने केही स्थानमा ढलान गरेर पदमार्ग बनाइएको हो । केही खण्डमा भने कच्ची सिँढीसमेत बनाइएको छ । चालू वर्षमा माटोको मात्र सिँढी बनाउने र आगामी वर्ष ढलान गरिने सापकोटाले योजना सुनाए  ।

“प्रारम्भिक तयारी पछि बजेट प्राप्त हुँदा सिँढी बनाउने योजना छ”, उनले भने । यो पदमार्गकै बाटो संसारकोटसम्म पदयात्रा पनि गरिएको छ । नेपाल भ्रमण वर्षका लागि आन्तरिक पर्यटक भित्र्याउन पदमार्ग निर्माणमा जोड दिइएको उहाँको भनाइ छ । जिल्लाका अधिकांश गाउँपालिकाले पदमार्गमार्फत आन्तरिक पर्यटक आर्कषण गर्ने लक्ष्य बनाएका छन् ।

गलकोट–७ को मल्मदेखि राम्चे ढुङ्गाको बाटो भएर घुम्टे जान पदमार्ग निर्माण थालिएको छ । गलकोटककै वडा नं ५ हरिचौरदेखि घुम्टे जाने टेउवामा पनि पदमार्गको काम भइरहेको छ । घुम्टे जिल्लाकै अग्लोमध्येको पहाड हो । त्यहाँ पुग्न पाँच घण्टा पैदल हिँड्नुपर्छ । ऋषिमुनिले तपस्या गरेको स्थानका रुपमा चिनिएको राम्चेढुङ्गा र गुफाचौरलाई चिनाउन घुम्टे पुग्ने पदमार्ग निर्माण थालिएको राम्चेढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष विष्णु थापाले बताए ।

राम्चेढुङ्गामा प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ । टेउवादेखि घुम्टे जाने पदमार्गमा नियमित पर्यटक हिँड्न थालिसकेका छन् । महोत्सव र मेलामार्फत यी दुवै पदमार्गबाट पर्यटक घुम्टे लैजाने गरिएको छ । स्तरोन्नति र पक्की पदमार्ग बनाउन गलकोट नगरपालिकाले समेत लगानी गरेको छ । गत वर्ष गण्डकी प्रदेश पर्यटन मन्त्रालयले पनि रु २० लाख लगानी गरेको स्थानीय थम्मन थापाले बताए  ।

काठेखोला गाउँपालिकाको धम्जादेखि थाप्लेतर्फ जाने सडकमा पनि बजेट विनियोजन गरेर पदमार्ग बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए  । संसारकोट र थाप्ले खण्डमा पनि संयुक्त लगानी गरेर पदमार्ग जोड्ने तयारी छ । तमानखोला गाउँपालिकाले ट्रेकिङ एजेन्सी एशोशिएन (टान)को सहकार्यमा पदमार्गको रुटसमेत तय गरेको छ । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमि लामो पदमार्ग चारदेखि पाँच दिनका लागि यात्रा गर्ने गरी बनाइएको अध्यक्ष जोकलाल बुढाले बताए  ।

मध्यपहाडी लोकमार्ग प्रयोग गरेर बुर्तिवाङ पुगेपछि पदमार्गको थालनी हुनेछ । उक्त मार्ग बुङ्गादोभान, खुङ्खानी, तमान, लामेला, सोलेडाँडा हुँदै ढोरपाटन पुग्नेछ । “जोखिम मोलेर गाडी चढ्ने र सडकले पहिरो चलाउनुभन्दा पदमार्ग उपयोगी छन्”, बुढाले भने, “मरोरम दृश्य अवलोकन गरेर घुम्ने चाहना धेरैको छ, यहाँ भित्र्याउन सकिन्छ ।”

सो पदमार्ग सञ्चालन हुँदा बागलुङ, म्याग्दी, गुल्मी, प्युठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने उनले बताए  । जैमिनी नगरपालिकाले हाँडीकोटलाई पर्यटकीय गन्तव्य बनाउन पदमार्गका लागि बजेट विनियोजन गरेर काम थालिसकेको छ । गत आव रु सात लाख लगानीमा सिँढी निर्माण थालिसकिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button