यती होल्डिङ्स विरुद्ध उत्रिए प्रदिप र कुन्दनराज

काठमाडौं : सरकारले गोकर्ण रिसोर्ट कौडिको मूल्यमा यति होल्डिङ्सलाई दिएको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । बुधबार गोकर्ण रिसोर्ट अगाडि भएको प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल, संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, नेविसंघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए ।

नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्ट र त्यस क्षेत्रको जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै वर्तमान सरकारले यती होल्डिङ्सलाई थप २५ वर्षका लागि दिएको छ । संसदबाट नेपाल ट्रष्ट ऐन संशोधन गरी सरकारले विना प्रतिष्पर्धा गोकर्ण रिसोर्ट र त्यस आसपासको करिब २८ सय रोपनी जग्गाा यती होल्डिङ्सलाई प्रतिरोपनी वार्षिक ५ सय ६४ रुपैयाँमा थप २५ वर्षका लागि सुम्पेको हो । नेविसंघका निवर्तमान महामन्त्री एवम नेपाली काङ्ग्रेसका नेता कुन्दनराज काफ्लेले कम्युनिष्टहरु कमाउनिष्टमा परिणत भएको चर्चा गर्दै त्यसको नेतृत्व बालुवाटारबाट प्रधनमन्त्री केपी ओलीले गरिरहेको आरोप लगाए।

गोकर्ण रिसोटको जग्गा कौडिको मूल्यमा यति होल्डिङलाई सुम्पेर ओलीले यसको प्रमाण पेश गरेको काफ्लेले जिकिर गरे । प्रदर्शनका क्रममा आयोजित कोणसभामा नेता पौडेलले वर्तमान सरकारले हिजोको सामन्तीवादी सोचलाई निरन्तरता दिदै जमिनमा कब्जा गरी राज्य कब्जा गर्न खोजको आरोप लगाए ।

उनले करोडौँ रुपैयाँ भाडा लिन सकिने गोकर्णको जमिन टेण्डर आह्वान नगरी वार्षिक केही लाख रुपैयाँ लिएर वर्षौवर्षका लागि यति होल्डिङ्सलाई दिएर सरकारले भ्रष्टाचारको नमूना प्रदर्शन गरेको बताए । सभामा संविधानसभा सदस्य एवं स्थानीय कांग्रेस नेता दीपकप्रसाद कुइकेलले सरकारले नयाँ संविधान बनेपछि त्यससँग बाझिएको कानुनहरु संशोधन गर्ने नाममा कसैले थाहा नपाउनेगरी नेपाल ट्रष्ट ऐन संशोधन गरेर यति होल्डिङसलाई गोकर्ण रिसोर्ट नियतवश कौडीको भाउमा सुम्पेको बताए ।

नेविसंघ नेता त्रिपाठीले प्रधानमन्त्री ओलीले गरिब जनताको पेटमा लात हानेर यति होल्डिङ्स जस्ता साहुकारहरुको भुडी भरिरहेको आरोप लगाए । उनले अस्पतालको शैय्याबाट देश चलाउने ओलीले आफूजस्तै विरामी, दुःखीहरुको पक्षमा निर्णय गर्लान भन्ने आफूले आशा गरेको भएपनि त्यो केवल आशामै सीमित भएको बताए ।

नेविसंघकी निवर्तमान केन्द्रीय सदस्य जानुका पन्तको सभापतित्वमा सम्पन्न कोण सभामा नेपाली कांग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघ नेता गोपी शिवाकोटीले सरकारी जग्गा कौडिको भाउमा आफ्ना कार्यकर्ता र आफू निकट व्यवसायहीरुहलाई सुम्पने सरकारी निर्णय खारेज हुनुपर्ने बताए।

गोकर्ण रिसोर्ट विना प्रतिष्पर्धा यति होल्डिङ्लाई दिने सरकारी निर्णय खारेज नहुन्जेलसम्म नेविसंघले चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button