तनहुँमा एक किशोरीलाई आइसोलेसनमा भर्ना

तनहुँ। ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ । किशोरीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो ।

कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । दुबईबाट आएका उनका भिनाजु एक हप्ता ससुरालीमा बसेको खुल्न आएको छ । “ज्वरो र श्वास फेर्न गाह्रो भएपछि निजका परिवारले स्वास्थ्य शाखामा सम्पर्क गरेका थिए, नगरपालिकाले एम्बुलेन्स मगाएर उपचार केन्द्र पठाएका हौँ ।”

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले ती किशोरीलाई हल्का ज्वरो देखिएको जानकारी दिए । उनका अनुसार किशोरीको स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ । “रिपोर्ट प्राप्त नभएसम्म उनलाई आइसोलेसनमै राखिनेछ”, डा श्रेष्ठले भने । कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा २७ श्ययाको कक्ष तयारी अवस्थामा छ ।

जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसनकक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसनकक्ष तयारी अवस्थामा छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button