वालिङमा अनलाइनबाट परीक्षाफल सार्वजनिक

तोलाकान्त बगाले। स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आधुनिक प्रविधिलाई पछ्याउँदै ‘अनलाइन सिस्टम’ बाट कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ ।

नगरपालिकाद्वारा सञ्चालित आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षाको परीक्षाफल सो प्रविधिको उपयोग गर्दै सार्वजनिक गरेको हो ।

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विद्यालय सञ्चालन हुन नसकिरहेका बेला नगरपालिकाले ‘अनलाइन सिस्टम’ बाट नतिजा सार्वजनिक गरिदिएसँगै सरोकारवाला विद्यार्थी, विद्यालय वा अभिभावकले घरमै बसेर परीक्षाफल प्राप्त गर्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले जानकारी दिए ।

“आधुनिक सूचना प्रविधिसँग जोडिँदै स्मार्ट सिटीका रुपमा अगाडि बढेको नगरपालिकाले ‘अनलाइन सिस्टम’ बाट नतिजा सार्वजनिक गरेर प्रविधितर्फ पहुँच वृद्धि गर्दैछ”,उनसले भने, “विद्यालयले आफ्ना विद्यार्थीको नतिजा हेर्न र डाउनलोड गरेर लेजर प्रिन्टसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।”

नतिजा हेर्नका लागि वालिङ नगरपालिकाको वेभसाइट walingmun.gov.np मा गई ‘कक्षा ८ नतिजा’ बटनमा क्लिक गरेर आफ्नो विद्यालयको आइडी र पासवर्ड हालेर लेजर हेर्न र प्रिन्ट गर्न मिल्ने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

‘इन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सफ्टवयरको विकास गरी सोहीमार्फत नतिजा सार्वजनिक गरिएको नगरपालिकाका सूचना प्रविधि इञ्जिनीयर प्रकाश अर्यालले बताए ।

नगरपालिकाभित्र रहेका प्रत्येक विद्यालयका कम्प्युटरसम्बन्धी ज्ञान भएका शिक्षकलाई सैद्धान्तिक र प्रयोगात्मक विषयका प्राप्ताङ्क भर्ने, नतिजा हेर्ने तरिकाका बारेमा तीनदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएसँगै नतिजा सार्वजनिक गरिएको इञ्जिनीयर अर्यालले बताए ।

नगरपालिकामा २४ सामुदायिक र १२ संस्थागत गरी कूल ३६ विद्यालयका एक हजार ६ जना छात्रछात्रा कक्षा ८ को परीक्षामा सम्मिलित भएका नगरपालिकाले जनाएको छ । गत फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा कोरोना लकडाउनले रोकिएको थियो । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button